प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको मृत्यु संख्या ह्वात्तै बढेको छ।विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी २ जना संक्रमितको मृत्यु भएको हो।
विराटनगरको नोबेल अस्पतालमा उपचाररत सिरहाको लाहान–६ का ५५ वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको बिहीबार दिउँसो १ बजेतिर मृत्यु भएको छ। ज्वरो र श्वासप्रश्वासमा समस्या रहेका पुरुषलाई असोज २५ गते अस्पताल भर्ना गरिएसँगै स्वाबको पिसिआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो।
अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टिपछि नोबेलकै कोभिड अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो । मृतकमा फोक्सो सम्बन्धी पुरानै समस्या रहेको थियो।
त्यस्तै धरान–७ की ६३ वर्षीया महिलाको बिहीबार दिउँसो ११ः१५ बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रकाशित: २९ आश्विन २०७७ १३:११ बिहीबार