समाज

२४ घण्टामा धरान र विराटनगरमा ९ जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमितको उपचारका क्रममा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। प्रदेश १ को धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५, धरानमै होम आइसोलेनका १ र विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ र विराटनगरकै विराट नर्सिङ होममा १ जना संक्रमितको मृत्यु भएको हो।  

विराट नर्सिङ होम (विराटनगर अस्पताल)मा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया एक महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको छ।

गत मंगलबार महिलालाई मुटु र स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि नर्सिङ होममा भर्ना गरिएको परिवारले बताए। नर्सिङमा भर्नासँगै स्वाब पिसिआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको थियो। पोजेटिभ रिपोर्ट आए पनि नर्सिङ होमले उनलाई त्यही दुई दिन राखेर उपचार गर्दा बुधबार साँझ मृत्यु भएको हो।  

महिलालाई कोरोना पुष्टि भएपछि कोभिड अस्पताल नलगी नर्सिङ होममै राखिएको थियो। विराटको आफ्नै कोभिड अस्पताल रहे पनि त्यहाँ नलगी नर्सिङ होमै राख्दा संक्रमण फैलन सक्ने सम्भावनालाई बेवास्ता गरिएको छ। उपचाररत कसैलाई संक्रमण पुष्टि भए तत्काल थप उपचारका लागि कोभिड अस्पताल लैजानु पर्छ।

उपचारका क्रममा कोरोना पुष्टि भएपछि पनि नर्सिङ होमले कोभिड अस्पतालको अइसोलेसनमा लैजानेतर्फ ध्यान नदिँदा परिवारको सदस्य गुमाउनु परेको आफन्तले गुनासोका छन्। ‘हामीलाई चित्त बुझाउने ठाउँ नै राखी दिएन नर्सिङ होमले,’ एक जना आफन्तले भने, ‘कोरोना लागेपछि कोडिभ अस्पतालमा लगेर थप उपचार गरेको भए केही हुन्थ्यो कि? पैसाको लोभमा नर्सिङ होमले आफैं राख्न खोजेको देखिया । अस्पतालकै लापरबाहीका कारण हामीले परिवारको सदस्य गुमाउनु पर्‍यो।’ मुटु सम्बन्धी पुरानै समस्या रहेको परिवारजनले बताए।  

‘बिरामी भएर आएपछि अस्पतालमा कि राख्न मिल्दैन। कहाँ कसरी राखेर उपचार गर्ने अस्पतालले गर्छ,’ नर्सिङ होमका निर्देशक डेनिस कार्कीले भने, ‘महिलाको मृत्युबारेमा मलाई केही थाहा छैन। म काठमाडौंमा छु। घटनाबारे बुझौंला।’ यस्तो घटना वा समस्या यहाँ मात्रै होइन नेपालभर नै छ। कुनै पनि अस्पतालमा पर्याप्त बेड छैन बिरामी राखेर उपचार गर्नका लागि भनेर सरकारलाई बारम्बार भनेका छौं, निर्देशक कार्कीले भने।  

बिरामी भएर अस्पताल आउँछन्। त्यसै फर्काउन मिल्दैन उपचार गर्नै पर्‍यो। ‘हामीसँग भएको अस्पतालको बेड पूरै भरिसक्यो भन्दा पनि हुँदैन,’ निर्देश कार्कीले भने, ‘बिरामी राख्ने ठाउँ छैन विकल्प खोज्नुस्भन्दा पनि उपचार गर्नै पर्छ।’      

त्यस्तै, विराटनगरकै कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको बिहीबार बिहान र बुधबार राति मृत्यु भएको छ। विराटनगर–४ का ५० वर्षीय र सुनसरीको धरान–१५ का ६६ वर्षीय पुरुष रहेको केन्द्रले जनाएको छ।  

विराटनगरका पुरुषको असोज २१ गते रिपोर्ट पोजेटिभ आएसँगै त्यही दिन राति अस्पताल भर्ना गरिएको र उनको बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

त्यस्तै गत सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा बुधबार राति ९ बजेतिर मृत्यु भएको बस्नेतले बताए। उनमा मधुमेह, उच्च रक्तचापलगायतका स्वास्थ्य समस्या पुरानै रहेको  थियो।  

त्यसैगरी, धरास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका ३, तेह्रथुमका २, इटहरीका १ जना र होम आइसोलेसनमा रहेका धरानकै १ जनाको मृत्यु भएको छ।

प्रकाशित: २९ आश्विन २०७७ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App