समाज

म्याग्दीमा अपराधको मुख्य कारण मदिरा, एक वर्षमा ४२ वटा घटना

म्याग्दीमा भएका अपराधजन्य अधिकांश घटनाहरुको मुख्य कारण मदिरा अर्थात् मादक पदार्थ सेवन (रक्सी खाएर) गरी भएको पाइएको छ। जिल्लामा भएका आपराधिक क्रियाकलापहरुको अनुसन्धान गर्दा त्यसको मुख्य कारण मदिराको प्रयोगबाट भएको देखिएको हो। अपराधजन्य गतिविधिमा मुख्य कारण मदिरा भएको अनुसन्धानका क्रममा भेटिएको प्रहरीले जनाएको छ।  

गत आर्थिक वर्ष २०७६/७७ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कुल १ सय ५७ वटा विभिन्न प्रकृतिका मुद्दाहरुमध्ये ४२ वटा मदिराका कारण भएको अनुसन्धानमा खुलेको प्रहरी नायव उपरीक्षक किरणजङ्ग कुँबरले मदिराको अत्यधिक प्रयोगले गर्दा आपराधिक क्रियाकलापहरु बढेको बताए। ‘दर्ता भएका मुद्दामध्ये २७ प्रतिशत मदिरा र बाँकी अन्य कारणबाट भएको अनुसन्धानका क्रममा खुलेको छ’ उनले भने। यसैगरी मदिराबाट पीडक पुरुष ४४ प्रतिशत र महिला शुन्य रहेका छन् भने अपराधजन्य क्रियाकलापबाट पीडित हुनेमा पुरुष २७ प्रतिशत र महिला १५ प्रतिशत मात्रै रहेको प्रनाउ कुँबरले बताए।  

आपराधिक क्रियाकलापतर्फ गतवर्ष अभद्र व्यवहारमा कुल २१ वटा घटना भएका छन्भने जबरजस्ती करणीका ५, भवितव्य ज्यान ४, जबरजस्ती करणी उद्योग र कर्तव्य ज्यान ३÷३, लागूऔषध र ज्यान मार्ने उद्योगका २÷२, बालयौन दुरुपयोग र चोरीका १÷१ वटा घटना भएका छन्। यी सबै घटना हुनुमा मुख्य कारण मदिराको प्रयोग देखिएको प्रहरी अनुसन्धानमा खुलेको जनाइएको छ।  

गत आवको चैत ११ गतेदेखि चालु वर्षको साउन ६ गतेसम्म म्याग्दी जिल्लामा कुल ५५ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यसमध्ये पुरुष २३, महिला १५, बालिका १० र बालक ७ जना रहेको प्रनाउ कुँबरले जानकारी दिनुभयो। उहाँका अनुसार बाढी पहिरोमा परी मृत्यु बेहोरेका २९ जना रहेका छन्भने विषसेवन १, झुण्डीएर आत्महत्या ५, खोलामा हाम फालेको २, भीरबाट लडेर ज्यान गुमाएको ४, सवारी ज्यान ४, फुटकर ज्यान ३, खोलाले बगाएको ३, कर्तव्य ज्यान २ र करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। 

प्रकाशित: २९ आश्विन २०७७ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App