समाज

भीरबाट लडेर एकको मृत्यु

भीरबाट लडेर उदयपुरका एक पुरुषको ज्यान गएको छ। घर नजिकैको तीनटाट्ने नामक भीरबाट लडेर खोलामा खस्दा जिल्लाको उदयपुरगढी गाउँपालिका ६ का ५७ वर्षीय दलबहादुर सुबेदीको ज्यान गएको हो।  

स्थानीय विकास बस्नेतलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार घरदेखि झण्डै ५ सय मिटर टाढाको भीरबाट लड्दा स्थानीय वैधनाथ खोलामा खसेर सुबेदीको मृत्यु भएको हो। आइतबार विहान १० बजेतिर कसैलाई जानकारी नदिइ घरबाट निस्केका सुबेदी सोमबार विहान खोलामा मृत अवस्थामा स्थानीयले देखेर परिवारलाई जानकारी गराएका थिए।  

प्रहरीका अनुसार माछा मार्न गएका स्थानीयले खोलाको ढुंगामा मृत अवस्थामा अड्किएको अवस्थामा सुबेदीलाई भेटेर उनको परिवारलाई जानकारी गराएका थिए। स्थानीयको जानकारी अनुसार प्रहरी टोली घट्नास्थल गएर सर्जमिन मुचुल्का गरी शव निकालेको बताइएको छ।  

भीरबाट खसेको ठाउँदेखि ५० मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ। झण्डै ७० मिटर अग्लो भीरबाट खसेका उनलाई खोलाले बगाएर त्यहाँसम्म पुर्‍याएपछि ढुंगामा अड्काएको अनुुमान स्थानीयले गरेका छन्। मृतकको शव पोष्टमार्टमका लागि सोमबार उदयपुर जिल्ला अस्पताल गाईघाट ल्याइएको छ। घट्नाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ आश्विन २०७७ १३:४२ सोमबार