समाज

पर्यटन खुल्यो,तर पाहुना खुलेनन्

पोखराको फेवाताल र पर्यटकीय क्षेत्र लेकसाइड। तस्बिरःउमेश पुन

होटलमा बस्ने पाहुना छैनन्, रेस्टुरेन्टमा खान आउने पनि देखिन्नन्। पर्यटक बस गुडायो यात्रु पाइदैनन्, प्याराग्लाइडिङ उडायो, उड्न जाने भेटिन्नन्, पसल खोल्यो ग्राहक छिर्दैनन्। कोरोना महामारीबीच पोखरामा विभिन्न पर्यटकीय गतिविधि सुचारु त भए। तर ती गतिविधिमा रम्ने, रमाउने, बस्ने, खाने पाहुना भने छैनन्। आन्तरिक र बाह्य पाहुनाविहीन अवस्थामा यहाँका सिमित पर्यटकीय पुर्वाधार कठिनसाथ संचालन भईरहेका छन्। व्यवसायी भन्छन, ‘पर्यटन मात्र खुल्यो, पाहुनालाई घुमघामको बाटो खुलेन।’

स्थानीय पाहुना केही गतिविधिमा रम्न पुगेपनि त्यो चहलपहल क्षणिक अवधिका लागि भएको व्यवसायीले बताएका छन्। राजधानीबाट आएका र फाट्टफुट्ट स्थानीय पाहुना होटलमा बस्न, खान र अन्य गतिविधिमा रम्न पुगेपनि पर्यटन व्यवसायी सानो आकारको त्यो गतिविधिलाई व्यवसायसँग जोड्न समेत चाहँदैनन्। त्यसैले त अहिले पनि साना र मध्यम आकारका सबै व्यवसाय खुलाउने आँट व्यवसायीले गरेका छैनन्। ठुला आकारका पुर्वाधार संचालनमा आएपनि साना व्यवसायी भने अझै दोधारमा छन्। एकाध पाहुना पाएपनि ठूला होटलले मात्र भेटेका छन्। साना होटल, रेस्टुरेन्ट त अझै पनि बन्द नै छन्। 

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (एनएए)का अध्यक्ष कृष्ण भण्डारी भन्छन्, ‘आधा छुट दिएपछि पोखरा क्षेत्रका केही मान्छे प्याराग्लाइडिङ उड्न आएका छन्। तर त्यो गतिविधिले व्यवसाय भने उकासिँदैन।’ उनका अनुसार प्याराग्लाइडिङमा अरुबेला आधा घण्टा उड्दा ७५ सय रुपैयाँ शुल्क पर्ने गरेकोमा योबेला आधा छुट दिएर ३५ सयदेखि ४ हजार रुपैयाँसम्म झारिएको छ। सस्तो शुल्कको फाइदा उठाउँदै पोखरा र आसपासका क्षेत्रका केही युवायुवती प्याराग्लाइडिङ उडिरहेको उनले बताए।

‘खासमा यो पर्यटकीय सिजन हो। पोहोर यो बेला दैनिक ६ सय हाराहारीमा उडान भईरहेका थिए। ती उडानका पाहुनाले कम्तिमा ७५ सय रुपैयाँ तिरेका थिए,’ भण्डारीले भने, ‘अहिले आधा शुल्कमा उड्न पाउँदा पोखरा आसपासका युवायुवतीले अवसरको उपयोग गर्न पाएका छन्। पोखराको आकाशमा उड्ने उपयुक्त मौकाको रुपमा यो समयलाई लिएका छन्।’ पोखरामा वर्षौंदेखि प्याराग्लाईडिङ उडान भएपनि स्थानीयहरु कमै मात्रामा उड्न पुग्थे। बाहिरबाट घुम्न आएका आन्तरिक र बाह्यक पर्यटक नै प्याराग्लाइडिङका ग्राहक हुने गरेपनि यो पटक बाहिरबाट आउन नपाउँदा स्थानीयले सस्तोमा मनोरञ्जन गर्न पाएको उनले बताए। अघिल्लो वर्ष दसैंको छेको पर्दा यो बेला पोखरामा आन्तरिक पाहुनाको भीडभाड हुने गरेकोमा यो पटक घुमिफिरमा निस्कने अवस्था नै नभएको व्यवसायीको भनाई छ। 

अहिले दैनिक एकसय हाराहारीमा उडान भईरहेको भण्डारीले बताए। ‘स्थानीयको यो संख्या लामो समय टिक्दैन। स्थानीयले हामीलाई मात्र चलायमान बनाएका हुन्। आर्थिक रुपमा भने चलायमान भएका छैनौ,’ उनले भने, ‘संक्रमण हटेर अरु आन्तरिक र बाहय पर्यटक आएपछि मात्र बल्ल व्यवसायीले गोजीमा दुई पैसा हाल्न पाउँछन्।’ कोरोना महामारीसँगै चैतदेखि बन्द भएको प्याराग्लाईडिङको उडान असोज १५ देखि पुनः सुरु भएको थियो।

रेस्टुरेन्ट व्यवसायी समेत रहेका पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष गोपिबहादुर भट्टराई पनि रेस्टुरेन्ट खोलेपनि व्यापार नभएको बताउँछन्। उनी भन्छन, ‘बत्ती बाल्ने काम मात्र भएको छ। अहिले बालेको दीयोले भविश्यमा उज्यालो दिनेमा आशावादी छौ।’ उनका अनुसार रेस्टुरेन्टमा खानपिनका लागि स्थानीय पाहुना फाट्टफुट्ट जाने गरेका छन्। त्यस्तै काठमाडौंबाट काम विशेषले आएका केही व्यक्ति रेस्टुरेन्टमा खान पुगेका छन्। तर ती पाहुनाले तिरेको शुल्कले रेस्टुरेन्टको खर्च धान्दैन। 

‘कोरोना भाइरस महामारीले काठमाडौंलाई केन्द्र बनाउँदा हिडडुल नै रोकियो। काठमाडौं नखुलेसम्म पाहुनाको मुभमेन्ट हुनै सक्दैन,’ उनले भने, ‘काठमाडौं सुरक्षित रहन सकेको भए केही पाहुना आउनेमा हामी आशावादी थियौ। तर, अहिले त काठमाडौं नै इपीसेन्टर बन्दै जाँदा अब पाहुना आउने आश हरायो।’ उनका अनुसार यो बेला लेकसाइडमा एकसय भन्दा बढि रेस्टुरेन्ट संचालनमा रहेपनि झन्डै दुइदर्जन मात्र रेस्टुरेन्ट खुलेका छन्। ती रेस्टुरेन्टले पनि पहिलेको जस्तो पुरा आकारमा सेवा समेत दिन नसकेको उनले बताए। 

सरकारले सार्वजनिक सवारी संचालन खुलाएसँगै असोज १ देखि पोखराबाट संचालन हुने पर्यटक बस पनि गुड्न थालेका थिए। पोखरा–काठमाडौं–पोखरा रुटमा गुड्न थालेका ती पर्यटक बसले यो बेला दसैं र पर्यटकीय सिजन हुँदा खचाखच यात्रु पाउँथे। यात्रुलाई सिट पुर्‍याउन ती बसलाई हम्मेहम्मे हुन्थ्यो। तर, अहिले पोखरा–काठमाडौं रुटमा एउटा मात्र पर्यटक बस गुडेको छ। काठमाडौंबाट पोखरा आउने बस पनि दुइवटा छन्। तर ती बसले अहिलेसम्म यात्रु भेटेका छैनन। महामारीबीच बस चलेको महिनादिन पुगिसक्दा पनि यात्रु नपाइएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी उपाध्यक्ष हरिराम अधिकारीले बताए। अधिकारी भन्छन, ‘यो बेला पनि दैनिक एउटा मात्र बस पोखराबाट काठमाडौं पठाएका छौ। तर, त्यो बसलाई पनि यात्रु छैनन। काठमाडौंबाट पोखरा आउने बसले पनि यात्रु भेटेका छैनन।’ 

दसैं भएकोले पनि यो बेला पोखराबाट काठमाडौं जाने भन्दा राजधानीबाट फर्किने यात्रु बढी हुन्थे। तर, अहिले त काठमाडौंबाट पनि आउने छैनन। काठमाडौं पोखरा रुटमा दैनिक दुईवटा बस संचालन भएपनि आधा सिटमा पनि यात्रु नभएको उनले बताए। यात्रु अभाव भएपछि पर्यटक बसको निरन्तरताबारे पनि सोच्ने अवस्था आएको उनले बताए। जसोतसो दसैंसम्म नोक्सान बेहोरेर भएपनि बस संचालन गर्नेबारे व्यवसायीबीच छलफल भएको उनले बताए। ‘बरु लागत बाँडेर भएपनि दसैंसम्म बसलाई निरन्तरता दिने योजना हो,’ उनले भने, ‘एकजना व्यवसायीले मात्र त बस गुडाउन सक्ने अवस्था नै भएन।’ 

यस्तै अवस्था होटलमा पनि छ। पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले केही ठुला होटलले सिमित पाहुना पाएपनि त्यो आकार निकै नै कम रहेको बताए। ‘एकाध चल्तीका होटलले सिमित पाहुना पाएका छन्। तर ती होटलले न्यून संख्यामा पाएका ती पाहुनाबाट लाभ पाउँदैनन,’ तुलाचनले भने, ‘सबै होटल खुल्ने अवस्था छैन। सबैले पाहुना पाएका पनि छैनन।’ अहिले स्थानीय र फाट्टफुट्ट काठमाडौंबाट आएका न्यून संख्यामा होटलमा पाहुना पुगेको भएपनि त्यो प्रयाप्त नहुँदा खर्च धान्न सकिने अवस्था नरहेको उनले बताए। उनका अनुसार अहिले पोखराका ठुला आकारका होटल मात्र खुलेका छन्। साना र मध्यम आकारका होटल खोल्ने आँट व्यवसायीले समेत नगरेको अध्यक्ष तुलाचनले बताए। 

 

 

 

 

 

 

प्रकाशित: २६ आश्विन २०७७ ०९:२८ सोमबार

पर्यटन