समाज

परिवारमा सीमित रहेर दशैंतिहार मनाउन आग्रह

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर दशैं तिहार मनाउन आग्रह गरेको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको आईतबार बसेको १९ औं बैठकले दिनानुदिन कोरोना भाइरसको संक्रमण दर बढिरहेको अवस्थामा एकठाउँमा भेला हुँदा संक्रमण फैलिने त्रास बढेकाले सामूहिक रुपमा भीडभाड नगरी आ–आफ्नो घरमा परिवारमा सीमित रहेर चाडवाड मनाउन आग्रह गरेको हो। कोरोनाको संक्रमणबाट बँच्न र बचाउनका लागि आसन्न दशैं तिहारमा एक ठाउँमा भेला नहुन र चहलपहल नगर्न आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए।  

बैठकले नेपाल सरकारको कोभिड–१९ सम्वन्धी नियमको पालना गर्दै विभिन्न खेलकुद, धार्मिक मेला, भीडभाडका बीचमा गरिने कार्यक्रम, भेला जस्ता ‘मास मुभमेन्ट’मा सञ्चालन हुने गतिविधि नगर्न आग्रह गरेको छ। यस्तै, प्रत्येक वडामा वडाध्यक्ष वा वडासदस्यको नेतृत्वमा निगरानी टोली बनाएर स्थानीयलाई कोभिड–१९ को संक्रमणबाट बच्ने उपायका बारेमा सचेत गराउने तथा बाहिरबाट आएका स्थानीयलाई क्वारेन्टिन, आइसोलेसन वा स्वास्थ्य संस्थामा पुर्‍याउने व्यवस्था मिलाउन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सिर्जनात्मक तरिकाले सचेतनामुलक अभियान सञ्चालन गर्न हरेक स्थानीय तहलाई अनुरोध गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए।  

यस्तै, आइसोलेसन सेन्टर निर्माण तथा सञ्चालन सम्वन्धी कार्यविधि अनुसार आइसोलेसन सेन्टर निर्माणका लागि स्थानीय सरकारलाई अनुरोध गर्ने, जिल्ला बाहिरबाट आउने जोसुकै व्यक्तिलाई पिसिआर परीक्षण गरेर मात्र आउन अनुरोध गर्ने निर्णय गरिएको समितिले जनाएको छ।  

दिनानु दिन संक्रमणको जोखिम बढिरहेको भए पनि जिल्लाका धेरैजसो स्थानीय तह, कार्यालय, राजनैतिक दल, संघसंस्था लगायतले आयोजना गरेको कार्यक्रममा बिना सावधानी भीडभाड बढ्न थालेको छ। न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्न भनिए पनि हाल सोको पालना हुन सकेको देखिन्न। मास्कको प्रयोगमै बेपरवाह भइरहेको छ। कोरोनाको संक्रमबाट बँच्नका लागि विशेष सावधानी अपनाउनुपर्ने यो बेला अधिकांश क्षेत्रमा हेलचक्र्याइँ भने बढ्दो रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए।  

सुरक्षाका मापदण्ड पालना नगरी हिँडडुल गरेको वा अनावश्यक भीडभाड गरेको पाइएमा नियन्त्रणमा लिएर संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने व्यवस्था छ। तर, लकडाउन हटेपछि हाल हरेक क्षेत्रमा क्रमशः भीडभाड बढ्दो रहेको देखिएको छ।

प्रकाशित: २६ आश्विन २०७७ ०६:५९ सोमबार