समाज

भन्सारबाट निस्केको ट्रकमा भारी परिमाणमा लागुऔषध बरामद

ट्रकबाट बरामद लागुऔषध । तस्बिरः नागरिक

भन्सारबाट जाँच पास भएर निस्किएको एउटा ट्रकबाट नेपालमा बिक्री वितरण र ओसारपसार प्रतिबन्धित रहेको औषधिको भारी खेप प्रहरीले बरामद गरेको छ। वीरगन्जको अलाै‌स्थित एकीकृत भन्सार चौकी (आईसीपी)बाट निस्केको एचआर ३८ भी ४८९५ नम्बरको भारतीय ट्रकबाट पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उक्त ट्रकबाट फेनारगन, नुर्फिन, डाइजोपाम र विनसाइरेक्स बरामद भएको छ।  

ट्रकको चालकको क्याबिनभित्र बिभिन्न ठाउँमा र माथिको हुडमा लुकाएर राखिएको अवस्थामा लागुऔषध इन्जेक्शनहरु डाइजोपाम २९७ वटा, नुर्फिन २९७ वटा, फेनारगन २९७ वटा गरी कूल ८ सय ९१ एम्पुल इन्जेक्सन बरामद भएको हो। त्यस्तै एक सय एमएल प्याक रहेको विनसाइरेक्स समेत एक हजार दुई सय ६ बोतल बरामद छ। लागुऔषध प्रयोगकर्ताहरुले नशाको लागि प्रयोग गर्ने यि औषधिको यति ठूलो परिमाण एकसाथ बरामद भएपछि प्रहरी पनि अधिकारीहरु पनि आश्चर्यमा छन्।

भारत विहारको सिमावर्ती रक्सौल हर्दिया–४ बस्ने २० वर्षीय ट्रक चालक विक्रान्त पटेल, ट्रकमा रहेका रामबालक राम र आकाश राम समेतलाई प्रहरीले हिरासतमा लिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुगौली विर्ताबाट खटिएको टोलीले शनिबार राति करिब १० वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोक नजिकबाट आईसीपीबाट निस्किएकाे  ट्रक रोकेर चेक जाँच गरेको थियो। 

चार बोरा, एक कार्टुन र एउटा झोलामा राखेर लुकाइएको अवस्थामा लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए। लगुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान बढाउने कुँवरले बताए।

प्रकाशित: २६ आश्विन २०७७ ०६:४८ सोमबार

लागुऔषध