समाज

कोभिड अस्पताल र होम आइसोलेसनमा धरानका दुई संक्रमितको मृत्यु

होम आइसोलेसनमा बसेका र कोभिड अस्पतालमा भर्ना गरिएका धरानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।  

धरान वडा नं २ का ८९ बर्षीय वृद्धको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो भने धरान १५ का करिब ७० बर्षीय वृद्धको होम आइसोलेसनमा नै मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान २ का वृद्धको हिजो राती ११ बजे मृत्यु भएको थियो। उनलाई असोज २३ गते कोभिड पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो। उनलाई दीर्घरोग हाइपरटेन्सन समस्या भएको डा.श्रेष्ठले जानकारी दिएका छन्।

यस्तै, होम आइसोलेसनमा बसेका धरान १५ का वृद्धको आज बिहान घरमा नै मृत्यु भएको हो। वडा नं १५ का अध्यक्ष नरेश इवारमका अनुसार एक साताअघि वीपी प्रतिष्ठानमा पिसिआर परिक्षण गर्दा मृतकको रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपछि उनी घरमा नै होम आइसोलेसनमा बसेका थिए। ‘आज बिहानै घरमा नै मृत्यु भएको जानकारी आयो, अहिले सेनाको टोलीले प्रोटोकल अनुसार शव लैजाने तयारीमा छ,’अध्यक्ष इवारमले भने।

प्रकाशित: २६ आश्विन २०७७ ०४:४२ सोमबार

कोरोना संक्रमित मृत्यु