समाज

विश्वमा हरेक १६ सेकेन्डमा एक मृत शिशुको जन्म, कोभिड–१९ ले स्थिति झन् गम्भीर

विश्वमा हरेक १६ सेकेन्डमा एकजना र एक वर्षमा २० लाख शिशु जन्मँदै मृत अवस्थामा हुने गरेको एक तथ्यांकले देखाएको छ। युनिसेफ, डल्लुएचओ, विश्व बैंक तथा संयुक्त राष्ट्रसंघीय अर्थशास्त्र तथा सामाजिक मामिला विभागको जनसंख्या महाशाखाले संयुक्त रूपमा बिहीबार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो।

यसैगरी जन्मँदै मृत अवस्थामा हुने शिशुको कुल संख्याको ८४ प्रतिशत निम्न तथा निम्न मध्यम आय भएका देशका रहेका हालै सार्वजनिक गरिएको ‘ए नेग्लेग्टेड ट्र्याजेडी, दी ग्लोबल वर्डन अफ स्टिलबर्थ’ नामक प्रतिवेदनमा उल्लेख छ। सन् २०१९ मा जन्मँदै मृत अवस्थामा रहेका शिशुमध्ये तीन चौथाई सव–सहारा तथा दक्षिण एसिया क्षेत्रका रहेका थिए। गर्भ रहेको २८ सातामा अथवा सोभन्दा पछि मृत अवस्थामा बच्चा जन्मनुलाई ‘स्टिलवर्थ’ मानिन्छ।

‘जन्मने बेलामा अथवा गर्भावस्थामा बच्चा गुमाउनु विनाशकारी त्रासदी हो,’ युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोरले भनिन्। उनले हरेक १६ सेकेन्डमा संसारका कुनै पनि भागका आमाले मृत बच्चा जन्माउने जस्तो अकथनीय त्रासदी बेहोर्नपरेको र यस्तो दुःखद अवस्थालाई सम्बोधन गर्न उचित अनुमगन, गर्भावस्थामा गर्नुपर्ने स्याहार र प्रशिक्षित परिचारको आवश्यकता रहने बताइन्। बिहीबार सार्वजनिक सो प्रतिवेदनले कोभिड–१९ महामारीले शिशु जन्मँदै मृतअवस्थामा हुने स्थितिलाई झन् बढाएको बताइएको छ। महामारीले स्वास्थ्य सेवामा ५० प्रतिशतले कमी आएका कारण वर्षमा थप २ लाख बच्चा जन्मँदै मृत अवस्थाका हुनसक्ने पनि प्रतिवेदनमा उल्लेख छ। यसरी महामारीले ११ प्रतिशतले ‘स्टिलवर्थ’लाई बढाएको देखिन्छ। अमेरिकाका जोन हपकिन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थको एक आँकडाअनुसार विश्वका १३ देशमा यो बढोत्तरी २० प्रतिशतसम्म पुग्न सक्ने देखिएको छ।

अधिकांश ‘स्टिलवर्थ’ गर्भावस्था र बच्चा जन्मने बेलाको कमजोर हेरचाहका कारण हुन्छन्। ४० प्रतिशत स्टिलवर्थ प्रस्रवपीडाको बेला हुने गरेको पाइएको छ। ‘कोभिड–१९ ले महिला, बालबालिका तथा किशोरीका लागि स्वास्थ्य संकट निम्ताएको छ,’ विश्व बैंकअन्तर्गतको स्वास्थ्य, पोषण र जनसंख्या मामलाका निर्देशक मोहम्मद अली पाटेले भने।

प्रकाशित: २४ आश्विन २०७७ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App