समाज

कन्टेनर दुर्घटनामा दुईको मृत्यु

सिरहाको मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गमा भएको कन्टेटर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। लोकमार्गअन्तर्गत कटारी नगरपालिका–८ सिरिसेको सानो दमारमा ना५ख ९४२४ नम्बरको कन्टेनर दुर्घटनामा परी सडकबाट करिब ५ सय मिटर तल खसेको छ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार बुधबार साँझ ओखलढुंगाबाट कटारीतर्फ आउँदै गरेको कन्टेनर असन्तुलित भई दुर्घटनामा पर्दा त्यसमा सवार मीन राना मगर र राकेशकुमार यादवको मृत्यु भएको छ। मृतकमध्ये मगर र यादवको पहिचान उनीहरूसँगै भेटिएको परिचयपत्रका आधारमा भएको हो। सडकदेखि धेरै तल खसेको हुनाले उनीहरूको शव ढुंगाले थिचिएको अवस्थामा रहेको र पानी परिरहेकाले निकाल्न समस्या भइरहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीले बताए।

दुर्घटनामा घाइते योगेन्द्र दाहाल र विजय भुजेलको उद्धार गरी उपचारार्थ कटारी अस्पतालमा ल्याइए पनि त्यहाँ सम्भव नभएपछि विराटनगर रेफर गरिएको भण्डारीले बताए। उनीहरू दुवैको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। घटनाबारे सत्यतथ्य बुझ्न इलाका प्रहरीको टोली घटनास्थलमै तैनाथ गरिएको र पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०७७ ०३:१६ शुक्रबार

कन्टेनर दुर्घटना मृत्यु