समाज

कालिमाटी तरकारी बजार समितिको अध्यक्षमा कार्की

सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति अध्यक्षको जिम्मेवारी डा.योगेन्द्र कुमार कार्कीलाई दिएको छ। कार्की कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव हुन्।

कृषि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले डा. कार्कीलाई अध्यक्ष तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। कार्की कृषि मन्त्रालयको कृषि व्यवसाय तथा बजार प्रवद्र्धन महाशाखा प्रमुख हुन्।

यस अघि बजार समितिको अध्यक्ष सबनम सिवाकोटी थिइन्। कार्की यस अघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशको सचिव थिए। केही समय अघि प्रदेश मन्त्रालयबाट संघीय मन्त्रालयमा सरुवा भएको भएर आएका हुन्। 

त्यसैगरी, समितिको कार्यकारी निर्देशक पदमा वरिष्ठ कृषि अर्थ विज्ञ विनोद कुमार भट्टराई नियुक्ति दिने निर्णय गरेको छ।

कालीमाटी मुलुककै ठूलो तरकारी बजार हो। कालीमाटीबाट दैनिक करिब आठ सय टन तरकारी बिक्री हुन्छ। मुलुकका विभिन्न जिल्ला र भारतबाट आायत भएको तरकारी कालिमाटी तरकारी बजारमा आएपछि उपत्यकाका अधिकांश स्थानमा जान्छ।

 

प्रकाशित: २२ आश्विन २०७७ ०५:४२ बिहीबार

तरकारी बजार कालिमाटी