समाज

चित्तलसहित बाँकेमा दुई जना पक्राउ

मारेको चित्तलसहित अभियुक्तलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँके । तस्बिर : नागरिक

मारेको चित्तलसहित बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का २३ वर्षीय सामेल रोका र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ निवासी २८ वर्षीय अन्जन हमाललाई रंगेहात पक्राउ गरेको हो।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरबाट नेपालगन्जतर्फ बोरामा राखेर ल्याउँदै गरेको अवस्थामा डुडुवा गाउँपालिका वडा नम्बर ४ राप्तीनदी पुलबाट पक्राउ गरेको हो। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ कुण्डाचोकमा जंगली जनावर (चित्तल) मारेको भन्ने सूचनाको आधारमा जिप्रका र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले रोकाले चलाई ल्याएको भे ८ प ५४६५ नम्बरको मोटरसाईकलमा बोकेर ल्याएको चित्तल फेला पारिएको बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक ओम रानाले जानकारी दिए।  

पोथी जातको उक्त चित्तलको तौल करिव २५/२६ किलो रहेको बताइएको छ। घटनाको अनुसन्धान भइरहेको एसपी रानाले बताए।  

अभियुक्तलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको सजाय हुने प्रहरीले जनाएको छ। उक्त ऐन अनुसार १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने ब्यवस्था रहेको छ।

प्रारम्भिक अनुसन्धानबाट बरामद चित्तल राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ ढलैया निवासी रामु ओलीबाट रोका र हमालले ११ हजार रुपैयाँमा खरिद गरेर ल्याएको बुझिएको छ। ‘रामुले आफै मारेको वा अन्यबाट खरिद गरेको हो, यसबारे खुल्न आएको छैन,’ रानाले भने।

प्रकाशित: २१ आश्विन २०७७ ०६:५९ बुधबार