समाज

आइटीको डिग्री ठगीमा प्रयोग

अपराधमा शिक्षित व्यक्तिको संलग्नता कमै हुन्छ। उच्च शिक्षा हासिल गरेका व्यक्ति त झन् यस्तो अपराधमा लाग्दैनन् भन्ने आम बुझाइ पनि छ। प्रहरी रेकर्डले पनि पढेलेखेका व्यक्ति अपराधमा कम संलग्न हुने गरेको देखाउँछन्। अधिकतर विद्यार्थीको पढाइ सकिएपछिको सोच पढाइअनुसारको जागिर नै होस् भन्ने हुन्छ। तर प्रहरीले एक यस्ता व्यक्तिलाई पक्राउ गरेको छ, जसले आफ्नो पढाइ नै अपराधमा प्रयोग गरे। ४ वर्षदेखि कैयौं व्यक्तिलाई ठगी फरार सूचीमा रहेका एक कुख्यात अभियुक्तलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। उनी हुन्, जुम्लाका २६ वर्षीय पसल रोकाय। उनलाई प्रहरीले पूर्वी नेपालको नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो। उनी २० जनाभन्दा बढी व्यक्तिलाई विभिन्न प्रलोभन देखाएर रकम असुली फरार भएका थिए।

पक्राउपछि आइतबार प्रहरीको विशेष टोलीले उनलाई काठमाडौं ल्याएको छ। उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा सातवटा मुद्दा र साइबर ब्युरोमा एउटा मुद्दा दर्ता भइसकेको छ। उनले पढाइसँगै प्रविधिको प्रयोग गरी ठगी गर्दै आएको प्रहरीको अनुमान छ। उनले विभिन्न सामाजिक सञ्जाल र प्रविधि प्रयोग गरी ठगी तथा व्यक्तिको चरित्र हत्या गर्दै आइरहेका थिए। महानगरीय प्रहरी परिसरका अनुसार सिटिइभिटीको तालिम पास गराइदिने, छोरीलाई नर्सिङ पढाइदिने, राष्ट्रिय अनुसन्धान विभागको अधिकृतमा जागिर लगाइदिनेलगायत प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट १० लाख रुपैयाँभन्दा बढी ठगी गरेका छन्। त्यस्तै, कतिपयले पैसा माग्दा नदिएपछि सामाजिक सञ्जालमा फोटो राखेर चरित्र हत्यासमेत गरेको प्रहरीको भनाइ छ। आफूले चिनजानको व्यक्तिसँग पैसा माग्दा नदिएपछि ती व्यक्तिकी पत्नीको विवाहपूर्व आफूसँग शारीरिक सम्बन्ध रहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उनले गरेको फन्डा यति मात्रै होइन, केही युवतीलाई भनेको केटासँग बिहे गराइदिन्छु भनेर समेत ठगी गरेको प्रहरीको भनाइ छ।

शिक्षित व्यक्तिले नै ‘टेक्निकल माइन्ड’ अपराधमा प्रयोग गर्दा त्यसले ठूलो क्षति गरेको हुनसक्ने प्रहरीको आँकलन छ।

पछिल्लो समय उनको अर्को मुद्दा साइबर ब्युरो भोटाहिटीमा पनि दर्ता भइसकेको छ। उनीबाट थुप्रै व्यक्ति पीडित भएकाले अनुसन्धान सुरु भइसकेको काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। ‘उनको कनेक्सन नेपालमा मात्रै छैन, भारतीयसँग मिलेर नदेखिने गरी साइबर अपराध गरेका छन्,’ एसपी राठौरले भने, ‘विभिन्न प्रहरी कार्यालयमा थुप्रै व्यक्तिले उनीबाट ठगिएको भनी उजुरी दिएका छन्।’

उनको धेरैजसो गठीधन्दा साइबरसँग सम्बन्धित भएकाले साइबर ब्युरोले उनीमाथि अनुसन्धान थालेको छ। आइटीमा डिग्री गरेका उनले पढाइलाई नै अपराधतर्फ प्रयोग गरेका थिए। शिक्षित व्यक्तिले नै ‘टेक्निकल माइन्ड’ अपराधमा प्रयोग गर्दा त्यसले ठूलो क्षति गरेको हुनसक्ने प्रहरीको आँकलन छ। साइबर ब्युरोका एसपी पशुपति रायले रोकायको आपराधिक संलग्नता विविध रहेको बताए। आपराधिक माइन्ड र दिमाग प्रयोग गरेकाले त्यसबारे खोतल्ने काम भइरहेको उनको भनाइ छ। ‘अरू सामान्य व्यक्तिले यति धेरै साइबर अपराध गर्न सक्दैन तर पढाइ सकेर ‘एक्सपर्ट’ भइसकेको व्यक्तिले यसो गर्दा अनुसन्धान गर्नसमेत समय लाग्छ,’ उनले भने। उनका अनुसार पछिल्लो समय साइबर अपराध ह्वात्तै बढेको छ। लकडाउनको बेला पनि साइबर अपराधका घटना मौलाएका छन्। लुकेर गर्न सकिने अपराध भएकाले आइटी ज्ञान भएकाहरू यस्तो अपराधमा संलग्न रहेको प्रहरीको निष्कर्ष छ। साइबर क्षेत्रमा ज्ञान भएकाहरू पनि यो अपराधमा संलग्न हुँदा प्रहरीलाई अनुसन्धान गर्न चुनौती हुने गरेको एसपी रायको भनाइ छ।

प्रकाशित: १९ आश्विन २०७७ ०२:५३ सोमबार

ठगी प्रविधि प्रयोग आइटी