समाज

पर्सा र बारामा संक्रमण फेरि बढ्दै, ३२ नयाँ संक्रमित

वीरगन्जस्थित नारायणी अस्पताको पछिल्लो रिपोर्ट अनुसार पर्सा र बाराका विभिन्न ठाउँबाट संकलित एक सय ९२ जनाको थ्रोट स्वाब परीक्षण गर्दा थप ३२ जनामा संक्रमण पुष्टि भएको छ। केही दिनयता संक्रमितको संख्या घटेको देखिए पनि फेरि एकै पटकमा यति संख्यामा संक्रमित फेला परेको हो।  

देशै भर लकडाउन खुले पनि पर्सामा संक्रमण बढ्दा साउन १० देखि लगाइएको निषेधाज्ञा स्थानीय प्रशासनले अजोज १५ मा अर्थात २ महिना ५ दिनपछि हटाएको छ। यसको २ दिन नबित्दै कोरोना संक्रमित पुनः बढ्ने संकेत देखा परेको हो। लगाएको निषेधाज्ञा र लकडाउन हटेपछि बजारमा भिडभाड र सडकमा सवारी साधनको चहलपहल बढेको छ।  

नारायणी अस्पतालको पिसिआर प्रयोगशालाबाट शुक्रबार परीक्षण भएको एक सय ९२ स्वाबमा पर्साको एक सय ३७ र बाराको ५५ रहेको थियो। अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाका अनुसार पर्साका नयाँ संक्रमितमा पर्साका १५ र बाराका १७ जना रहेका छन्। यसमा ५ महिने शिशुदेखि ७७ वर्षे बृद्धसम्म रहेका छन्।  

पर्साका संक्रमितमध्ये वीरगन्ज महानगरपालिकाका ६ जना रहेका छन्। जसमध्ये २ जना एनएमवी बैंक वीरगन्ज शाखाका कर्मचारी हुन भने अरु वडा नम्बर १३, १४, १५ र १६ का एकएक जनामा संक्रमण पुष्टि भएको हो। त्यसतै बहुदरमाई नगरपालिका २ जना, पोखरिया नगरपालिकाका एक जना, जिराभावानी गाउँपालिकाका एक जना, कालिकामाई गाउँपालिकाका २ जनामा संक्रमण भेंटिएको हो।  

बारा जिल्लाका १७ जना संक्रमितमध्ये जितपुरसिमरा उपमहानगरपालिकाका १३ जना, बारागढी गाउँपालिकाका एक जना, परवानीपुर गाउँपालिका एक जना, महागढीमाई नगरपालिकाका एक जना र सदुरमुकाम कलैयाका एक जना रहेका छन्। थपिएका संक्रमितहरुको सिटि भ्यालु १७ देखि ३५ सम्म रहेको छ। कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै जिल्ला प्रसाशन कार्यालयले सावधानी अपनाउन आम मानिसलाई सचेत गराउदै आएको छ।

प्रकाशित: १७ आश्विन २०७७ १४:२८ शनिबार