समाज

आईपीएलमा सट्टाबाजी गर्ने तीन पक्राउ

विराटनगरबाट प्रहरीले तीन जना सट्टेबाजीलाई पक्राउ गरेको छ। दुबईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टाबाजी गर्नेलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।  मंगलबार राति विराटनगर–१५ का सत्यजित साह, बैजनाथ साह र विराटनगर–१७ का जगदीश साहलाई आईपीएलमा सट्टेबाजी गरिरहेको अवस्थामा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए। प्रहरीका अनुसार यहाँको सट्टेबाजीको प्रमुखका रूपमा सत्यजित रहेको र उनी खेल जित्ने हार्नेलगायतका विषयमा अनलाइनमार्फत पैसा लगाउने प्रमुख माध्यम रहेको भेटिएको छ।

‘हाम्रो प्रारम्भिक अनुसन्धानबाट सत्यजितको कनेक्सन विदेशमा समेत रहेको देखिएकाले थप अनुसन्धान थालेका छौं,’ डिएसपी राईले भने, ‘आइपिएलका खेलमा अनलाइनमार्फत जित हार, चौका छक्का, विकेट, रनको अन्तिम अंक कुन हुने, प्रत्येक बलमा के हुन्छ जस्तालगायतका स–साना कुरामा मोटो रकम सट्टेबाजी लाग्ने गरेको छ।’

विराटनगरमा मुख्यरूपमा आइपिएललगायत अन्य क्रिकेट प्रतियोगितामा ठूलो सट्टेबाजी हुने गरेको छ। एक प्रहरीले भने यहाँका ठूलो साना व्यापारीलगायत अन्य व्यक्तिले क्रिकेटमा धेरै बाजी लगाउने र फुटबलका केही प्रतियोगितामा मात्रै बाजी लगाउने गरेको भेटिएको छ। उनीहरूले मोबाइलबाट एसएमएस, व्वाट्सप, भाइबारबाट ‘सौदा’ बाजी लगाउने गरेका छन्। प्रहरीका अनुसार बाजी लगाउने केही नभए ‘आज पानी पर्ने वा नपर्ने’, चाँदीको भाउ, खाद्यान्नको भाउ कति हुन जस्ता कुरामा पनि बाजी अर्थात् सट्टेबाजी लाग्दो रहेछ।

प्रहरीले पक्राउ परेका सत्यजितको साथबाट ६० हजार नेपाली रुपैयाँ, एक थान ल्यापटप, जगदिश साहको साथबाट आरवान मोटरसाइकल, मोबाइल १ थान र बैजनाथ साहबाट १ थान मोबाइल बरामद गरेको छ।

पक्राउ परेका तीन जनालाई थप अनुसन्धान गर्न बुधबार म्याद थप गरेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १५ आश्विन २०७७ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App