समाज

नोबेलमा पिसिआर परीक्षण शुल्क १ हजार ५ सय ५०,स्वाब संकलनको ४ सय ५०

निजी क्षेत्रमा पहिलो पटक कोरोना भाइरसको परीक्षण सेवा प्रदेश १ को विराटनगरमा सुरू गरिएको छ।  विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट कोरोना भाइरस भए नभएको पिसिआर परीक्षण सेवा सुरू गरेको हो।  

प्रदेश १ का विभिन्न सरकारी ल्याबमा स्वाब परीक्षणको चाप बढेका कारण रिपोर्ट ढिला आउने गरेको थियो।  नोबेल अस्पतालले सरकारको अनुमति लिँदै सम्पूर्ण मापदण्ड पूरा गरी सुलभ मूल्यमा सबैको पिसिआर परीक्षण थालेको अस्पतालले जनाएको छ।  

पिसिआर ल्याब अस्पतालले एक महिना अघि नै तयारी गरे पनि सरकारबाट अनुमति प्राप्त नहुँदा ढिलो परीक्षणको सेवा सुरू गरेको  हो।  नोबेल शिक्षण अस्पतालका सञ्चालक डाक्टर सुनिल शर्माका अनुसार एक महिना अघि नै परीक्षणका लागि ल्याब तयार पारे पनि सरकारले एक महिना ढिलाइ गरी आइतबार अनुमति प्राप्त दिएको हो।  ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति आइतबार आएसँगै पिसिआर परीक्षण थालेका छौं,’ डाक्टर शर्माले भने, ‘कोरोना परीक्षणका लागि दुई वटा अत्याधुनिक अमेरिकन पिसिआर मेसिन ल्याएका छौं। ’

‘दैनिक दुई हजार स्वाब परीक्षण गर्न सक्ने क्षमता भएका दुई वटा पिसिआर मेसिनबाट सेवा सुरू गरेका छौं,’ अस्पतालका वरिष्ठ ल्याब अधिकृत गणेशकुमार सिंहले भने, ‘छुट्टै ठाउँमा सुरक्षित तरिकाले ल्याब सञ्चालन गरेको र ४ देखि ६ घण्टाभित्रै रिपोर्ट प्रदान गर्छौं।’  

नोबेल अस्पतालले पिसिआर परीक्षण शुल्क १ हजार ५ सय ५० रुपैयाँ र स्वाब संकलन शुल्क ४ सय ५० तोकेको छ।  यसअघि सरकारले ५ हजार ५ सय पिसिआर परीक्षण शुल्क तोक्दा नोबेलले २ हजार ४ सय ९९ रुपैयाँमै पिसिआर परीक्षण गर्ने घोषणा गरेको थियो।  नोबेललाई परीक्षण अनुमति दिन ढिलाइ गरेर सरकारले सोहीबीचमा परीक्षण शूल्क दुई पटक घटाइ २ हजार कायम गरेको छ।  

 

प्रकाशित: १२ आश्विन २०७७ ०८:५१ सोमबार

कोरोना भाइरस