समाज

बाढीले रुपन्देहीका ३५ घरगोठ भत्कियो

बुटवलमा बाढीले भत्काएको घरको अवलोकन गर्दै जनप्रतिनिधि । तस्बिर: नागरिक

अविरल वर्षाका कारण तिनाउ र दानव नदीको बाढीले ठूलो क्षति गराएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ३५ घरगोठमा क्षति पुगेको छ। करिव एक दर्जन घरमा बाढी पसेको छ। तिनाउ, दानव र रोहीणी नदीमा आएको बाढीले खेतीयोग्य भूभाग कटान गरेको छ।  

शुक्रबार रातीको वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल १७ रानीगञ्जका दुई घर बगाएको छ। उमेश हरीजन र पुरुषोत्तम पुरीको २ कोठे ब्लक र जस्ताले बनाएको घर बाढीले बगाएको हो।  

बाढीले बुटवल उपमहानगरपालिका ४ लक्ष्मीनगरमा गोठ तथा गाडी बगाएको छ।  भुमिकला सुवेदीको घर अगाडि रहेको ५ वटा बाख्रा बाढीले बगाएको छ। लक्ष्मीनगरमा ७ घर पहिरोको जोखिममा परेकाले सुरक्षित स्थानमा सारिएको छ। बुटवल उपमहानगरपालिकामा तिनाउ र दानव नदीका कारण क्षति गराएको छ।  

तिनाउमा आएको बाढीले १६/३६ सिँचाइको मुहानमा क्षति पुर्‍याएको छ। सामुदायिक भवन, दानव नदीमा तटबन्ध तथा पत्थरकट्टी सिँचाइको बाँध बगाएको बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए। उनका बुटवलका दर्जनौं घरमा बाढी पसेको छ। तत्काल उद्धार गर्नुपर्ने र बाढीले घर नै बगाएकाहरुलाई सुरक्षित स्थानमा राखिएको र बाढी प्रभावितको लगत लिने काम भएको नगरप्रमुख सुवेदीले बताए।  

तिनाउ नदीमा आएको बाढीले मायादेवी गाउँपालिकामा ४ घर भत्किएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका धनबहादुर थापा र सियारी गाउँपालिका कौवागाउका दुर्बल थापाको कच्ची गोठ भत्किएको छ।  

रुपन्देहीको मर्चवार क्षेत्रमा डुबानले खेतीयोग्य जमिनमा क्षति पुर्‍याउनुका साथै दर्जनौं घरमा क्षति गराएको रुपन्देही प्रहरीले जनाएको छ। मर्चवार जाने मुख्य मार्ग अवरुद्ध भएको छ। बाढीका कारण लुम्बिनी साँस्कृतिक नगरपालिका, मर्चवारी, सम्मरीमाई गाउँपालिकामा खेती नष्ट गराएको छ। किसानले लगाएको लाखौंको बाली र तरकारी समेत नष्ट भएको छ।

प्रकाशित: १० आश्विन २०७७ १३:१२ शनिबार