समाज

११ वर्षीया बालिकाको मृत्यु, आठ युवा नियन्त्रणमा

बराहक्षेत्र नगरपालिका–१ कटहरेकी ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय दशरत राईकी ११ वर्षीया छोरी मीना राई रहेकी छिन्।  

सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला ती बालिकाको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए। घटनास्थल वरिपरि रक्सिका बोतल भेटिएको र ती बालिकालाई पनि बोतलले हानेको चोट रहेको उनले बताए।

धामी हरेर आमाबुवा राति आउँदा कोठामा बालिका मृतावस्थामा भेटिएको वडा नं १ का वडाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए। प्रहरी निरीक्षक राजवंशीले घटनाबारे अनुसन्धान भइरहेको र शङ्कास्पद आठ जना युवालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको बताए।

प्रकाशित: १० आश्विन २०७७ १२:३१ शनिबार