समाज

तीन दिनदेखि सुत्केरी व्यथाले च्यापेकी महिलाको हेलिकप्टरबाट उद्वार

तीन दिनदेखि सुत्केरी व्यथा लागेकी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ ल्ही गाउँकी एक महिलाको हेलिकप्टरबाट उद्वार गरिएको छ। ३० वर्षीया हिसे लामा सुत्केरी हुन नसकेपछि उनलाई नेपाल आर्मीको हेलिकप्टरबाट आज दिउँसो ४ बजे काठमाडौँ लगिएको वडाध्यक्ष पेम्बा रेताले बताए।  

यसअघि पनि शल्यक्रिया गरेर बच्चा जन्माएकी उनको स्वास्थ्यमा समस्या भएपछि स्थानीय स्वास्थ्यकर्मीले घरैमा पुगेर जाँच गरेका थिए। ‘यहाँ उपचार नहुने भयो, काठमाडौँ पठाइएको छ’ वडाध्यक्ष पेम्बा रिताले भने।  

राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्वार गरेको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए। उत्तरी गोरखाको तिब्बतसँग सिमाना जोडिएको दुर्गम गाउँमा सडक सञ्जाल जोडिएको छैन।  

यहाँ स्तरीय सुविधा सम्पन्न स्वास्थ्य संस्था छैनन्। गैरसरकारी संघ संस्थाको सहयोगमा चलेका स्वास्थ्य संस्थामा समान्य सेवा मात्रै हुने हुँदा महिलाहरु सुत्केरी हुन हेलिकप्टरबाट काठमाडौँ जानुपर्ने बाध्यता वर्षौदेखि अहिले पनि उस्तै छ।

प्रकाशित: ९ आश्विन २०७७ १२:११ शुक्रबार