समाज

असोजमा पनि बाढीपहिरो, कम्तीमा १५ जनाको मृत्यु, ७ बेपत्ता

स्याङ्जाकाे पहिराेस्थलमा उद्धारमा जुटेका सुरक्षाकर्मी र स्थानीय। तस्बिर: नागरिक

आकाश खुल्ने बेला मुलुकका विभिन्न भागमा भएको भारी वर्षासँगै पहिरोमा पुरिएर बिहीबार कम्तीमा १५ जनाको ज्यान गएको छ । मनसुन सकिने बेलामा भएको निरन्तर वर्षाका कारण स्याङ्जामा पहिरोमा पुरिएर नौजना र पाल्पामा एक गर्भवतीको मृत्यु भएको छ । त्यस्तै बाढीले बगाएर कपिलवस्तुमा तीन र रौतहटमा एकजनाको ज्यान गएको छ । मोरङमा भने पर्खालले किचेर एकजनाको मृत्यु भएको छ । पाल्पामा पहिरोमा पुरिएका पाँचजना बेपत्ता छन् । कपिलवस्तु र रौतहटमा बाढीले बगाएका एकएकजना बेपत्ता छन् । मुलुकका विभिन्न भागमा तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ ।  

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोमा पुरिएर माया नेपालीको परिवारका नौजनाको ज्यान गएको हो । पुरिएका एकजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । छिमेकी टीकाराम लुइँटेलले वर्षा भएपछि पहिरोको जोखिम छ भन्दाभन्दै सरोकारवाला पक्षले ध्यान नदिँदा दुःखद घटना भएको बताए । बिहान साढे ५ बजेतिर डेढ सय मिटर माथिबाट झरेको पहिरोले घर पुरेको थियो । पहिरोमा पुरै परिवार पुरिएर दुःखद घटना भएको वालिङ–१४ का वडा सदस्य गमप्रसाद लुइँटेलले बताए ।  

पहिरोले पुरिएर ६० वर्षीया सेनी नेपाली, ४८ वर्षीया माया नेपाली, ३४ वर्षीय दीपक नेपाली, २८ वर्षीय कुलदीप नेपाली, १५ वर्षीय विक्रम (शिशिर) नेपाली, नौ वर्षीया विविशा नेपाली, २१ वर्षीया विनिता नेपाली, ३० वर्र्षीया उमा नेपाली र ६ महिनाका बालक समीर नेपालीको मृत्यु भएको हो । १८ वर्षीया मनीषा नेपालीलाई घाइते अवस्थामा उद्धार गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार मनीषालाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।  

पहिरोस्थल गायडाँडा र लुइँटेलडाँडाका बीचमा पर्छ । घटना भएको झन्डै पाँच घन्टापछि शव निकालिएको थियो । शव निकाल्न स्थानीयसहित जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएका थिए ।  

स्याङ्जामा पहिरोमा पुरिएर नौजना र पाल्पामा एक गर्भवतीको मृत्यु भएको छ । त्यस्तै बाढीले बगाएर कपिलवस्तुमा तीन र रौतहटमा एकजनाको ज्यान गएको छ । मोरङमा भने पर्खालले किचेर एकजनाको मृत्यु भएको छ । 

पहिरोले घर पुर्दा पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोट सुरुङडाँडाकी २७ वर्षीया गर्भवती मोतीसरा गाहाको मृत्यु भएको हो । पहिरोले हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको छ । पहिरोमा ६० वर्षीय हुमबहादुर गाहा, ५० वर्षीया धनिसरा गाहा, १७ वर्षीया कृष्णमाया गाहा, १४ वर्षीया खुमिसरा आले र आठ वर्षीया लक्ष्मी गाहा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  

निरन्तर वर्षा भएकाले पुरिएकाको खोजीमा समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराईले बताए । उनले उद्धारमा सुरक्षाकर्मी परिचालन गरिए पनि पहिरो र वर्षा नरोकिएकाले समस्या भएको बताए ।  

कपिलवस्तुमा बाढीले बगाउँदा तीनजनाको मृत्यु  
डोहोटे सडकखण्डअन्तर्गत कपिलवस्तुको कोइली खोला कजवे पुलमा विद्युत् वितरण केन्द्र गजहेडाका कर्मचारी बोकेको जिप खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ । एक बेपत्ता छन् । मृत्यु हुनेमा नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्र गजहेडाका जिपचालक ३५ वर्षीय माधवप्रसाद पाण्डे र कर्मचारी केशव भाट क्षेत्री रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । बेपत्ता हुनेमा विद्युत् वितरण केन्द्र ४ नम्बरका प्रमुख कृष्णप्रसाद पौडेल छन् । वाणगंगा नगरपालिका–९ भलवाडमा रहेको कजवे पुलमा आएको बाढीले प्राधिकरणका कर्मचारीसहित ६ जना रहेको बा१च १०८९ पजेरो जिप बगाएको हो । जिपमा रहेका विजय पोखरेल, परशुराम थारू र स्थानीय शिक्षक कोपिला अधिकारी पौडी खेलेर बाँच्न सफल भएका थिए । त्यस्तै कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गोबरहवास्थित बिसवा खोलाले बगाउँदा ६० वर्षीय रामसमुझ थारूको मृत्यु भएको छ ।  

यसैगरी मोरङको रानीमा पर्खाल भत्किएर किच्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया समिरु नेसा रहेको मोरङ प्रहरीले जनाएको छ । बिहान साढे ८ बजे धारामा पानी लिन जाँदै गर्दा विराटनगर जुटमिलको पर्खाल भत्किएर किचेपछि घाइते भएकी समिरुको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस्तै खोलाले बगाएर रौतहटमा बाख्रा गोठालो गएका बालक बेपत्ता छन् । वृन्दावन नगरपालिका–४ का उपेन्द्र राय यादवका आठ वर्षीय छोरा रोशनलाई खोलाले बगाएको हो ।  

लगातारको वर्षाले रौतहटको गढीमाई नगरपालिका–३ मा दुईवटा घर भत्केका छन् । त्यस्तै वर्षाका कारण खोटाङको एेंसेलुखर्क गाउँपालिका–४ जलेश्वरी मावाका ११ घर स्थानीय जोखिममा परेका हुन् । बस्तीभन्दा तलबाट पहिरो जान थालेपछि स्थानीय जोखिममा परेको गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।  रूपन्देहीमा पनि लगातारको वर्षाले तिनाउ नदीमा पानीको बहाव बढेको छ । त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भर्तापुरमा दानव नदीको पानी पसेको छ । डुबानमा परेका साता परिवारलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । तिनाउ खोलामा आएको बाढीले बुटवल उपमहानगरपालिका १७ रानीगन्जमा प्रेमकुमारी खाम्चाको घर बगाएको छ । यस्तै अन्य तीन घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
(धन बस्नेत/पोखरा, किरणमाान बज्राचार्य/कपिलवस्तु, विनोद परियार/रुपन्देही, विनोद सुवेदी/मोरङ, मदन ठाकुर/रौतहट, दमन राई/खोटाङ)

प्रकाशित: ९ आश्विन २०७७ ०१:३३ शुक्रबार

बाढीपहिरो बेपत्ता मृत्यु