समाज

सुनसरीमा कोरोनाः १ हजार ५३१ जना संक्रमित, ९ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को महामारीले सुनसरीमा अहिलेसम्म नौं जनाको मृत्यु भएको छ। यहाँ चैतदेखि असोज ६ गतेसम्ममा महामारीले नौ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले बताए।  

जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म जिल्लाभर एक हजार पाँच सय ३१ जना संक्रमित भएका छन्। जसमा ६४५ जना अहिले पनि उपचारकै क्रममा रहेका छन् भने ८७७ जना निको भइसकेका छन्। जिल्लाभर २७ हजार दुई सयको पिसिआर परीक्षण गरिएको छ। कोरोना संक्रमितको संख्या बढीरहदा सात सय २५ जना अटाउन सक्ने जिल्लाभर दसवटा आइसोलेसन वेड तयार गरि सकिएको छ।  

प्रशासन कार्यालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एक सय ५० जना क्षमताको आइसोलेसन रहेको छ। योबाहेक हरियाली पार्क धरानमा ५०, इटहरी रंगशालामा सय, इनरुवा बसपार्कमा २५, इनरुवा भगवती माविमा ५०, जगतगुरु रामानन्दचार्य सेवा पीठ बराहक्षेत्रमा सय, कृषि तालिम केन्द्र रामधुनीमा ५०, राष्ट्रिय बाणिज्य बैक गोदाम घर दुहवीमा सय, बिजी जेनेरल हस्पिटल हरिनगरमा ५० र गढी सामुदायिक भवनमा ५० जना क्षमताको आइसोलेसन रहेको छ। यी आइसोलेसनमा अहिले ८४ जना रहेका छन्।

प्रकाशित: ७ आश्विन २०७७ ११:५७ बुधबार