समाज

चितुवा मृत फेला

फाइल फोटो

बैतडीको पाटन नगरपालिका–८ ज्याफूमा एक वयस्क चितुवा मृत फेला परेको छ। मृत फेला परेको चितुवा एक हप्ताअघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय बैतडीका डिभिजनल वन अधिकृत केशव पराजुलीले जानकारी दिए। पासोमा परेर घाइते भएको चितुवा मरेको हुन सक्ने उनले बताए।  

मृत चितुवालाई वन कार्यालयमा ल्याएर मुचुल्का गरी गाडिने बताइएको छ। यस्तै जिल्लाको सिगास गाउँपालिका–२ गाँजरीमा एक चितुवालाई स्थानीयले घेरेर राखेका छन्। स्थानीयले चितुवालाई घेरेको खबर पाएपछि प्रहरी र वनको टोली गएको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए।  

चितुवालाई नियन्त्रणमा लिन सम्भव नभएकोले जंगलतर्फ नै धपाइने डिभिजन वन अधिकृत पराजुलीले जानकारी दिए। वन कार्यालयसँग दक्ष जनशक्ति र उपकरण नभएकाले चितुवा नियन्त्रणमा लिन नसकिने भएकाले जंगल तर्फ धपाउने तयारी भएको हो।

प्रकाशित: ६ आश्विन २०७७ ०७:४४ मंगलबार