समाज

एकै परिवारका तीन जनाको पोखरीमा डुबेर मृत्यु

आमाछोरीसहित एकै परिवारका तीन जनाको पोखरीमा डुबेर मृत्यु भएको छ। मोरङको ग्रामथान–४ मोतिपुरको पकिया टोलमा रहेको माछा पोखरीमा डुबेर आइतबार तीन जनाको मृत्यु भएको   गाउँपालिका अध्यक्ष नारायण माझीले जानकारी दिए।  

ग्रामथान र कटहरी गाउँपालिकाको सीमामा पर्ने बाबा बनस्खण्डी मन्दिर परिषरमा रहेको पोखरीमा आमासहित दुई छोरीको डुबेर मृत्यु भएको माझीले बताए। डुबेर मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया आमा सीता अधिकारी, छोरीहरू १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका अधिकारी रहेका छन्।  रुद्र कटवालको सो पोखरीमा अधिकारी परिवार माछा रुग्ने काम गर्दै आएका थिए। त्यस पोखरीमा माछालाई चारो दिन गएको र छोरीहरू नुहाउने क्रममा घटना भएको हुनसक्ने गाँउपालिका अध्यक्ष माझीले जानकारी दिए। माझीले भने, ‘दुवै छोरी नुहाउने क्रममा डुबेपछि अत्तालिएर आमा छोरीलाई बचाउने क्रममा पोखरीमा डुबेको हुन सक्छ।’ डुबेका तीनै जनाको शव प्रहरी र स्थानीयले आइतबार साँझमा झिकेर पोष्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा राखिएको छ।

प्रकाशित: ५ आश्विन २०७७ ०४:१२ सोमबार

मृत