समाज

धरानमा पहिरोले जमिनसँगै घर भासिएपछि ७ परिवार विस्थापित

पहिरोसँगै जमिन भासिएपछि क्षतिग्रस्त घरहरु । तस्बिर : रोहित राई

एक साताअघिदेखि निरन्तर वर्षाले धरानको वडा नं २० विष्णुपादुकास्थित आपटार क्षेत्रमा जमिन चिरा पर्न थालेको थियो। स्थानीयहरु ठूलै विपत आउला कि भन्ने त्रासमा थिए।

शुक्रबार रातीदेखि भने वर्षा हुन छोडेपछि उनीहरुले राहतको सास फेरे। तर, मध्याह्न १२ बजेतिर एक्कासी आपटार माथिको डाँडा खस्यो, र घरसहित जमिन भासियो। खेतबारीहरु चिरा चिरा पर्‍यो। घर बस्नै नहुने भएपछि शनिबार दिउँसोदेखि विष्णुपादुका क्षेत्रका ७ परिवार विस्थापित भएका छन्। उनीहरु सुरक्षित स्थानमा भएका छिमेकी र आफन्तको शरणमा पुगेका छन्।

पहिरो र जमिन भासिएर कति क्षति पुग्यो भन्ने तथ्यांक संकलन भइसकेको छैन। पीडितहरुका अनुसार आइतबार दिउँसो पनि निरन्तर पहिरो खस्ने क्रम जारी छ। ‘जमिन एक सातादेखि चिरा पर्दै थियो, हामीले टाल्दै पनि थियौं,’पीडित सृर्जना राईले भनिन्,‘हिजो शनिबार १२ बजेतिर खाना खादै गर्दा एक्कासी घर र जमिन नै भासियो, हत्तपत्त बाहिर डाँडातिर निस्कियौं।’

सृजनाको परिवारमा ८ जना छन्। शनिबार राती उनको परिवार अर्काको जग्गामा टहरा बनाएर बस्न बाध्य भए। गाई, बाख्रा, कुखुरा साविक घरमा नै छोडेर हिड्नु परेको उनले बताइन्। ज्यान जोगिए पनि दुःख गरेर बनाएको घर, खेतबारी क्षति पुगेपछि उनको परिवारको विचल्ली छ। ‘‘के गर्ने, कसो गर्ने भनेर सोच्नै सकेको छैन, अब कहाँ बस्ने, के खाने टुंगो भएन,’उनले भनिन्।

विस्थापित नन्दलाल यादवका अनुसार घाम चर्कदै गएपछि जमिन चिरिदै घर भासिन थालेको बताए। उनले आफूहरु भदौ २५ गतेदेखि नै सुरक्षित ठाउँमा सरेको बताए। ‘राती भोक भोकै बसेका छौं, धेरै नै गाह्रो भएको छ,’उनले भने,‘बासको टुंगो नै भएन।’ अर्का, विस्थापित विन्दुकुमारी राईले पनि गाँस र बासको ठेगान नभएको भन्दै सरकारले सहयोग गर्नुपर्ने बताइन्। ‘ज्यान मात्र बच्यो, घर खेत सबै गयो। सरकारले सहयोग गर्छ भन्ने आशा छ,’उनले भनिन्।

पहिरो गएको वडा धरानको पहाडी क्षेत्र साविक विष्णुपादुका गाविसमा हो। वडा नं २० का अध्यक्ष मणीराम राईले केही दिनअघिस्थलगत अनुगमनमा आउदा यति ठूलो विपत्ति आइलाग्छ भन्ने अनुमान गरेको बताए। आइतबार वडाको विपद व्यवस्थापन समिति बैठक बसेर विस्थापितहरुलाई राहत विरतण गरिएको पनि उनले बताए। ‘५० केजी चालम, ३ केजी दाल, नुन र तेल १ केजी, साबुन २ वटा, र स्वास्थ्य चौकीबाट औषधि वितरण गर्ने निर्णय भयो, आजै वितरण गछौ,’वडाअध्यक्ष राईले भने,‘राहतको लागि उपमहानगरपालिका र जिल्ला विपद व्यवस्थापन समितिलाई सिफारिश गर्ने पनि निर्णय भएको छ।’

अध्यक्ष राईले पहिरोबाट के कति क्षति भयो भन्ने पुर्णरुपमा विवरण संकलन भइनसकेको पनि बताए। तर, ७ वटा घर पुर्णरुपमा क्षति पुगेर परिवार विस्थापित नभएको र २ घर जोखिममा रहेको उनले बताए। ‘विस्थापित परिवारलाई बस्नको लागि छरछिमेकमा व्यवस्थापन गर्ने, नभए त्रिपालले भएपनि बस्ने व्यवस्था गछौं,’उनले भने।

प्रकाशित: ४ आश्विन २०७७ ०९:३१ आइतबार