समाज

अनशनरत डा. केसीलाई सास फेर्न गाह्रो

चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा ६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुुटुको चाल अनियमित भएको चिकित्सकहरुले बताएका छन्। डा. केसीको स्वास्थ्य जाँचमा खटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. प्रवीणकुमार गिरीका अनुसार पाँचौं दिनको तुलनामा छैटौं दिनमा मुटुको चालमा निकै गडबडी देखिएको छ। केसीलाई चक्कर लाग्ने, मांशपेसी बाउँडिने र स्वास्थ्य अवस्था कमजोर बनेको लक्षण देखिएको उनले बताए।

डा. केसीको छाती शुक्रबार राति निकै दुखेको र सास फेर्न गाह्रो भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्। पिसाबको मात्रामा कमी आएको छ। शुक्रबार मध्यरातदेखि दुइ सय मिलिलिटरमात्र पिसाब भएको छ। रक्तचाप पनि कम हुँदै गएको चिकित्सकहरुले बताएका छन्।

कर्णाली प्रतिष्ठानको चिकित्सक टोलीले दैनिक तीनपटक डा. केसीको स्वास्थ्य जाँच गरिरहेको छ। छैटौं दिनमा स्वास्थ्य अवस्था निकै कमजोर भएकाले अस्पताल जान परामर्श दिएिको डा. गिरीले बताए। उनले भने, ‘स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। तत्कालै अस्पताल लैजानुपर्ने देखिन्छ। डा. केसीलाई तत्काल अस्पताल लैजाने वातावरण बनाउन आग्रह गर्दछौँ।’ डा. केसीलाई २४ सै घण्टा नियमित अनुगमन गर्न सकिने ठाउँमा यथाशीघ्र स्थानान्तरण गर्नुपर्ने डा. गिरीले बताए।

मुटुको चाल अनियमित बनेपछि डा. गोविन्द केसीलाई सास फेर्न गाह्रो भएको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएको चिकित्सकले बताएका छन्।

‘डा. केसी हिँड्न सक्ने अवस्थामा हुनुहुन्न। हिँडाउन अर्काको सहारा लिनुपरिरहेको छ। रगतमा चिनीको मात्रालगायत जाँच गर्न मान्नुभएको छैन्’, डा. गिरीले भने, ‘नशाबाट सलाइन लिन र अस्पताल जान मान्नुभएको छैन। यो अवस्थाले निकै चिन्तित तुल्याएको छ।’ रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कम हुदा संक्रमणको खतरा बढ्न सक्ने डा. गिरीले बताए। डा. केसीको उपचारमा कर्णाली प्रतिष्ठानका डा. गिरी, डा. अनुपमंगल समाल र सविना थापा खटिएका छन्। यसअघिका सत्याग्रहमा धेरै दिनसम्म स्वस्थ देखिने डा. केसीको स्वास्थ्य यसपटक सत्याग्रहको छैटौं दिनमै कमजोर बनेको चिकित्सकहरुले बताएका छन्। सत्याग्रहको ६ दिन पुग्दा पनि सरकारका तर्फबाट माग पूरा गर्न कुनै संकेत देखिएको छैन।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने, स्वास्थ्यमा सबै नागरिकको पहँुच, सुनिश्चित गरिनुपर्नेलगायतका माग राखेर डा. केसीले सत्याग्रह थालेका हुन्। सत्याग्रह स्थल जुम्लाको रानीचौरस्थित बाविरामष्ट मन्दिर परिसरमा पुगेर ऐक्यबद्धता जनाउनेको संख्या बढ्दै गएको छ। डा. केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाउन साझा पार्टीको टोली जुम्ला पुगेको छ।

प्रकाशित: ४ आश्विन २०७७ ०१:०९ आइतबार

अनशन डा. गोविन्द केसी