समाज

किशोरी बलात्कारमा संलग्न दुई जना पक्राउ

सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ की १७ वर्षीया किशोरीको बलात्कारमा संलग्नमध्ये दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। सोही वडाका १९ वर्षीय बब्लु भन्ने सुमनकुमार मण्डल र रन्जित भन्ने सरोजकुमार मण्डललाई शुक्रबार बिहान सीमावर्ती नेपाली गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिए।

किशोरीलाई बलात्कार गरी फरार उनीहरु भारतको सीमावर्ती गाउँमा लुकिछिपी बस्दै आएका थिए। पारि खोजतलास तीव्र पारिएपछि वारि प्रवेश गर्ने बित्तिकै पक्राउ गरिएको प्रहरी निरीक्षक खड्काले बताए। किशोरी बलात्कारको मुख्य कशुरदार उनीहरु दुई जना नै भएको अहिलेसम्मको अनुसन्धानले खुलेको छ, खडकाले भने। बाँकी सहयोगी कशुरदारको पनि खोजी भैरहेको उनले बताए।  

गत सोमबार खेतमा जमेको पानी बगाउन गएकी १७ वर्षीया किशोरीलाई चार जनाले पछाडीबाट समातेर धान खेतमा बलात्कार गरेका थिए। घटनाबारे प्रहरीमा उजुरी नगर्न फरमान जारी गर्दै पञ्चहरूले किशोरी र उनकी आमालाई पञ्चायतीमा धम्क्याएपछि उनले सोही राती झुन्डिएर आत्महत्या गरेकी थिइन्।

प्रहरीले बलात्कार घटनालाई पञ्चायती गरेर दबाउनेहरूमध्ये जयकान्त मण्डल, सत्यनारायण मण्डल र वासुदेव मण्डललाई पक्राउ गरिसकेको छ। पञ्चायतीमा संलग्न अन्य पञ्चहरु फरार छन्। उनीहरू सबैको खोजी भइरहेको प्रहरी निरीक्षक खड्काले बताए।

प्रकाशित: २ आश्विन २०७७ ०८:३६ शुक्रबार