समाज

धराप बन्दै सडक नाला

अत्तरियास्थित महेन्द्रनगर रोड किनारमा नालामाथिको फुटेको ढक्कन । तस्बिरः पुष्पराज/नागरिक

सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला र कैलाली कञ्चनपुरको सदरमुकाम छिर्ने मुख्यद्वार अत्तरिया बजारका सडक नाली (ड्रेन कभर) धराप बनेका छन्। पूर्व–पश्चिम राष्ट्रिय राजमार्गसहित पहाडी र धनगढी सडक किनारमा बनाइएका नालामाथिका ढक्कन फुट्न थालेपछि यात्रुहरुलाई नाली धराप बन्न थालेको हो।  

नालामाथि फुटेका ढक्कन फालेर नयाँ नफेरिँदा रातिको समयमा यात्रुलाई हिँडडुल गर्दा नालामा खस्ने डर रहेको बताउँदै स्थानीय व्यवसायी नरेन्द्र भट्टले भने,‘सडक किनारमा रहेको नालामाथि फुटेका ढक्कन भएर जाँदा कयौँपटक स्थानीय खसेका छन्।’ नालामा खस्दा चोट पटक लाग्नुका साथै मान्छे नै मर्ने सम्भावना रहेको उनले बताए। उनले भने,‘स्थानीय वडा कार्यालय, नगरपालिका तथा सडक डिभिजन कार्यालयले नै नालामाथि  फुटेका ढक्कन परिवर्तन गर्नुपथ्यो, त्यो अहिलेसम्म गरिएन।’ 

अत्तरिया बजारका मुख्य सडक किनारमा रहेको नालामाथि बनाइएको ढक्कन वर्षौदेखि फुटेर ठाउँ ठाउँमा ठूल्ठूला प्वाल रहेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए। उनले भने,‘नालामाथि प्वाल हुँदा सडक किनार भएर हिँड्ने यात्रु नालामा खस्नुका साथै सवारी साधन पार्किङ गर्न लाग्दा खाडलमा फस्ने गरेका छन्।’ उनले अत्तरिया सडक हेर्ने महेन्द्रनगरस्थित सडक डिभिजन कार्यालयले चाँडै नै नालामाथिका ढक्कन फेर्नुपर्ने बताए।  

धेरैअघि एक जना स्थानीय समेत रातिको समयमा हिँड्दै गर्दा नालामा खसेर मृत्यु भएको समेत उनले बताए। ‘अत्तरिया बजारका नालामाथिका ढक्कन धेरै अघिदेखि फुटेका छन्,’ उनले भने,‘ति फुटेका ढक्कनमाथि रातिको समयमा हिँड्दै गर्दा नालामा खसेर एक जना स्थानीयले समेत ज्यान गुमाउनु परेको थियो।’ जीर्ण नालामाथि बनेका प्वालमा छाडा चौपाया पनि पटक पटक फस्ने गरेको बताउँदै अर्का स्थानीय राजेन्द्र चौधरीले भने,‘धेरै पटक नालामा खस्दा गाई गोरु समेत मरेका छन्, भने कतिपय चौपाया घाइते समेत बनेका छन्।’ उनले मोटरसाइकल र साइकल चालक समेत खाडलमा खस्ने गरेको बताए।  

यस्तै वर्षौदेखि नाला सफा नगरिँदा जमेको फोहोरले गर्दा ढक्कन फुटेको ठाउँबाट पानीमाथि आएर बजार क्षेत्रको सडक जलमग्न हुने गरेको उनले बताए। ‘नालामाथि फुटेको ढक्कनबाट वर्षातको पानी बाहिर निस्कँदा बजार क्षेत्रको सडक जलमग्न हुने गरेको छ,’ उनले भने,‘समयमै ढक्कन नबनाउँदा अत्तरिया बजार डुबानमा पर्ने गरेको हो।’  

अत्तरिया बजारदेखि पूर्वतर्फको केही भाग र पश्चिमतर्फ गोदावरी नदीसम्मको भागमा माटो पटानगरी अग्लो बनाइने बताउँदै सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले भने,‘अत्तरिया बजारको सडक धेरै पुरानो र होँचो भइसकेको छ, चाँडै नै पटान गरी अग्लो बनाइने छ।’ सडक अग्लो बनाइँदा जीर्ण रहेको नाला पनि मर्मत गरिने उनले बताए। उनले भने,‘वर्षौदेखि नाला फुटेको समस्या आउँदै गरेको छ, यसपालिको बजेटमा हामीले मर्मतका लागि रकम माग गरेका छौँ।’  

वर्षात् सकिने वित्तिकै अत्तरिया बजार क्षेत्रको सडक मर्मत गरिनुका साथै नाला पुनर्निर्माण गरिने उनले बताए। ‘अत्तरिया क्षेत्रको सडक तथा नाला २०५५/२०५६ सालतिर बनेको हो,’ उनले भने,‘धेरै पुरानो भएका कारण नाला तथा सडक जीर्ण बनेको छ, त्यसलाई चाँडै सुधार गरिने छ।’ जीर्ण नाला तथा सडक पटानको स्टमेट बनाउँदै गरेको बताउँदै उनले भने,‘हामी यो स्टमेट बनाउने वित्तिकै टेण्डर आह्वान पनि गर्छौँ र तुरुन्तै निर्माण कार्य हुन्छ।’

प्रकाशित: १ आश्विन २०७७ १०:०५ बिहीबार