समाज

पैसा अभावमा अस्पतालमै बन्धक बनेका शिवचन्द्र र मिलयादेवी घर फर्किए

उपचारखर्च नपाएर दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका शिवचन्द्र सदा र मिलयादेवी बन्धन मुक्त भएका छन्।  प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको पहलमा उनीहरु मंगलबार दिउँसो अस्पतालबाट घर फर्किएका हुन्।  

गाउँका तथाकथित ठूला जातिका मानिसबाट मरणासन्न हुनेगरी कुटाई खाएर घाइते उनीहरुले अस्पतालमा उपचार खर्च तिर्न सकेनन्।  उपचार खर्च तिर्न नसकेर दुई महिनादेखि अस्पतालमा बन्धक रहेका थिए।  

उनीहरुलाई मुक्त गर्न मुख्यमन्त्री लालबाबु राउतले यसअघि नै अस्पतालको रकम तिर्ने निर्णय गरेका थिए।  महान्यायाधिवक्ता झाले अस्पतालमा उपचार खर्चको व्यवस्था गर्नुका साथै उनीहरुलाई घर पठाउन एम्बुलेन्सको व्यवस्थापन समेत गरिएको जानकारी दिए।  सदा दम्पत्ति घरतिर लागेको तस्बिर सार्वजनिक गर्दै महान्यायाधिवक्ता झाले उनीहरुको विषय उठान गर्ने सबैलाई धन्यवाद दिएका छन्।  

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उठाएको मुद्दालाई सम्बोधन गर्दै प्रदेश २ का महान्यायाधिवक्ता झाले लेखेका छन्, ‘प्रदेश २ को सरकारले एक लाख पचास हजार दिने निर्णय गत विहिवार नै गरेको थियो।  प्रकृयामा ढिलाई भयो, यसकारण क्षमाप्रार्थी छु। ’

उनले गोल्डेन हस्पतालका सञ्चालक मध्येका एक सनातन मण्डललाई फोन गरेर प्रदेश सरकार जवानी बसेकोले मुक्त गरिदिन आग्रह गरे।  

झाले प्रदेश प्रहरी प्रमुखलाई यस विषयमा तत्काल काम अगाडि बढाउन घच्घचाइरहे।  

प्रक्रियामा अल्झिने सरकारी कामबारे झा भन्छन्, ‘दुर्भाग्य नै मान्नु पर्दछ, प्रतिक्रियावादीलाई परास्त गर्यौंभ, प्रक्रियावादीहरु अझै जनताको सरोकारको बिषय ढिलो गर्छन्।’

दोहोरो-तेहेरो अन्यायमा परेका दलित दम्पत्ति सप्तरीको महुलीका स्थानीय बासिन्दा हुन्।  उनीहरूलाई कुट्ने तारेखमा छुटिसकेका छन् तर, गरिबीका कारण कुटाइ खानेहरू भने दुई महिनादेखि विराटनगरको गोल्डेन हस्पिटलमा बन्धक बनाइएका हुन्।  घाउचोटको उपचारको पैसा तिर्न नसकेपछि अस्पतालले बन्धक बनाउँदै आएको थियो।  

उनीहरुले बन्धक बनाइएको दुई महिनासम्म अन्य बिरामीका आफन्तले दिएको खाना खाएर अस्पतालमा दिन कटाउँदै आएका थिए।  

 

प्रकाशित: ३१ भाद्र २०७७ ११:३८ बुधबार

उपचार बन्धक