समाज

रोल्पाको होलेरीमा लकडाउन

होलेरी बजार । तस्बिर : दिनेश/नागरिक

रोल्पाको होलेरी बजारमा लकडाउन गरिएको छ। शनिबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि लकडाउन गर्ने निर्णय गरिएको हो। प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाका अनुसार कन्ट्रयाक्क ट्रेसिङ गरेर अर्को नतिजा नआउदासम्म लकडाउन गरिएको हो। समुदायस्तरमा संक्रमण फैलिन सक्ने जोखिम बढेकाले कडाईका साथ लकडाउन गरिने प्रमुख जिल्ला अधिकारी रानाले बताए।  

रुन्टीगढी गाउँपालिकाको होलेरीमा भेटिएका संक्रमितमध्ये ५ जना भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन। एक जना काठमाडौबाट सरुवा भएर आएका नेपाल प्रहरी हुन, उनी पनि क्वारेन्टिनमा बसेका थिए। त्यसैगरि अर्को १ जना कामना बैंकका कर्मचारी र एक जना चिया पसल गर्ने व्यापारी रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा. आधार वलीले बताए।  

डा. आधारले यो घटनाले कोरोना संक्रमण समुदायस्तरमा गएको जस्तो देखिएको बताए। उनका अनुसार अहिले कन्ट्रयाक्क ट्रेसिङको तयारी भईरहेको छ। रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार संक्रमित प्रहरी भर्खरै काठमाडौबाट सरुवा भएर आएका थिए। ‘उनी क्वारेन्टिनमा रहेकाले प्रहरीभित्र त्यति तनाव छैन बरु बैंक र चिया पसल गर्ने व्यापारीहरुलाई संक्रमण देखिएपछि समुदायस्तरमा फैलिने चिन्ता बढेको छ।’  

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले संक्रमण समुदायस्तरमा गएकाले चिन्ता थपिएको बताए। उनले कन्ट्रयाक्क ट्रेसिङको तयारी गरिरहेको बताए।

प्रकाशित: २८ भाद्र २०७७ ०९:३२ आइतबार