समाज

महिला हत्या आरोपमा युवक पक्राउ

उदयपुरमा महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। शनिबार विहान धारिलो हतियार प्रयोग गरी ४२ वर्षीया डोरकुमारी राउतको हत्या अभियोगमा कटारी नगरपालिका ११ का रोशन मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

गाउँमा महिलाको हत्या भएको भन्ने खवर आएलगत्तै इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले स्थानीय प्रहरी चौकीको सहयोगमा छिमेकी २५ वर्षीय मगरलाई घर घेरा हाली पक्राउ गरिएको हो। प्रहरीका अनुसार खुकुरी प्रहारबाट टाउकोमा चोट लागेकी राउतको घट्नास्थलमै मृत्यु भएको छ।  

मृतकको शव पोष्टमार्टमका लागि कटारी अस्पताल ल्याइएको छ। घट्नाबारे विस्तृत जानकारी आईनसकेको जिल्ला प्रहरी प्रमुखक एसपी भीम दाहालले बताए। कटारी नगरपालिका ११ का वडाध्यक्ष सरोज बुढाक्षेत्रलाई उद्धृत गर्दै एसपी दाहालले जनाए अनुसार लागू औषधको नसामा लठ्ठिएको अवस्थामा राउतमाथि मगरले खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।  

शुक्रबार कटारी बजार झरेका मगरले लागूऔषध सेवन गरेर घर फर्केको प्रारम्भिक अनुसन्धानले देखाएको हुनाले लागूऔषध खाएकै अवस्थामा बेहोसीमा महिलामाथि खुकुरी प्रहार गरेको अनुमान प्रहरीको छ। मगरलाई प्रहरी कार्यालय ल्याउँदै गरेको बताउँदै दाहालले विस्तृत तथ्य अनुसन्धानपछि मात्र खुल्ने बताए।  

 

प्रकाशित: २७ भाद्र २०७७ ०९:४२ शनिबार

हत्या आरोपी