समाज

धरानमा ग्याँस लिक भएर आगलागी हुँदा एक जना घाइते

धरानमा एक खाजा पसलमा ग्याँस लिक भएर आगलागी हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्। धरान १६ अन्नपुर्ण चोकस्थित पुष्य मार्गमा रहेको खाजा पसलका सञ्चालक बिक्रम श्रेष्ठ गम्भीर घाइते भएका हुन्।  

बिहान करिब ५ बजे जडान गरेको सुविधा कम्पनीको नयाँ सिलिण्डरको रेगुलेटरबाट एक्कासी आगो लागेको घाइते श्रेष्ठले बताए। ‘नयाँ सिलिण्डर जडान गरेर अन गरेको थिएँ, रेगुलेटरबाट एक्कासी आगो लाग्यो,’उनले भने,‘सिलिण्डरलाई बाहिर निकाल्ने हुँदा मलाई नै पोल्यो।’

घाइते श्रेष्ठको हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। श्रेष्ठको हात, अनुहार, टाउकोलगायतमा आगोले पोलेको छ। श्रेष्ठकी पत्नी कविताका अनुसार आगलागीले पसलको सम्पुर्ण सामान जलेर क्षति पुगेको छ भने घरको संरचनामा पनि क्षति पुगेको छ। उनका अनुसार ४ लाख बढी जति क्षति भएको छ।  

वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले ग्याँस कम्पनीको लापरवाहीले आगलागी भएको दाबी गरे। उनले कम्पनीको रेगुलेटर राम्रो नभएकोले आगलागी भएको बताउदै कम्पनीसँग क्षतिपूर्ति दाबी गर्ने बताए। ‘ग्याँसकै कारणले आगो लागेको हो। यसरी त धेरै जोखिम हुन्छ, यस्तै लापरवाही भयो भने ठुलो धनजनको क्षति हुन्छ,’अध्यक्ष गिरीले भने,‘यो घटनाको जिम्मेवारी कम्पनीले लिनुपर्छ। हामी क्षतिपूर्तिको दाबी गछौं।’

प्रकाशित: २७ भाद्र २०७७ ०६:४९ शनिबार

आगलागी