समाज

भोको पेटमा मलम लगाउँदै ‘हन्ड्रेड समूह’

खुल्ला मञ्चमा खाना खाँदै मजदुर। तस्बिर: उपेन्द्र/नागरिक

केही समयअघिसम्म खुलामञ्च जनताको गास, बास र कपासको नारा दिइने क्रान्तिकारी थलोका रुपमा परिचित थियो। मञ्चमा बसेर रोजीरोटीको ग्यारेन्टी गर्ने नेताहरु यति बेला सत्तामा छन्। तर सधै यही मञ्चबाट क्रान्तिकारी भाषण सुन्दै आएका रामेछाप दोरम्बाका ४६ वर्षीय गणेश श्रेष्ठ मंगलबार साँझ भने एक छाक खाना खान यही मञ्चमा लामबद्ध थिए। भारी बोक्ने उनी एकछाक खाना खान लाममा बस्नुपर्दा उदास देखिन्थे।

श्रेष्ठले राजधानी काठमाडौं आएर पसिना बगाउन थालेको डेढ दशकभन्दा बढी भइसक्यो। दशकभन्दा बढी पसिना बगाएको यही सहरमा अहिले उनलाई एक पेट भर्न कठिन भएको छ। ‘भाषणले हैन, भातले पो पेट भरिन्छ’, सामाजिक संस्था ‘हन्ड्रेड समूह’ ले बाड्दै गरेको दालभात हातमा लिएका उनले भने, ‘एक सय किलो बोराको चामल उचाल्ने ज्यान अहिले एकछाक खाना पनि जुटाउन नसक्ने अवस्थामा पुगेको छ।’

श्रेष्ठसँगै एकछाक खान लाममा बसेका महेश कटुवालको अवस्था पनि पीडादायी छ। भारी बोक्ने उनी पनि राजधानी काठमाडौं सहरमा आएर काम गर्न थालेको दुई दशकभन्दा बढी भइसक्यो। यहाँ उनले हरेक सामानको बोझ उठाए। तर यतिबेला कोरोनाको बोझ उठाउन नसक्ने अवस्थामा पुगेको उनी सुनाउँछन्।

‘ठूला कुरा गरेर सरकारमा गएका नेताले गरिबको पेट भर्न सकेनन्,’ उनले भने, ‘पसिना बगाउने मजदुरले एक छाक राम्रोसँग खान नपाउनु निकै पीडादायक अवस्था हो।’

श्रेष्ठले जस्तै उनले पनि विभिन्न समयमा यसै मञ्चअघि बसेर नेताका भाषण सुने। थुप्रै नेताले गास, बास र कपासको भाषण दिए तर यतिबेला उनी भोकभोकै बस्न बाध्य छन्। नाराले हैन, खानाले पेट भरिने उनको भनाइ छ। ‘ठूला कुरा गरेर सरकारमा गएका नेताले गरिबको पेट भर्न सकेनन्,’ उनले भने, ‘पसिना बगाउने मजदुरले एक छाक राम्रोसँग खान नपाउनु निकै पीडादायक अवस्था हो।’

कोभिड–१९ को जोखिम रोक्न चैत चैत ११ मा लगाइएको बन्दाबन्दी साउन ६ गते हटेपछि बिस्तारै कामको खोजीमा लागेका श्रेष्ठ, कटुवालजस्तै असंगठित मजदुर फेरि भदौ ४ गते जारी निषेधाज्ञाका कारण बिजोकमा परेका छन्। एकछाक खाना जुटाउन पनि उनीहरूलाई सकस भएको छ।

लकडाउन निषेधाज्ञाका कारण खासगरी दैनिक र त्यो पनि अनौपचारिक क्षेत्रमा श्रम गरेर पालिनेहरूको अवस्था दयनीय बनेको छ। काठमाडौं उपत्यकामा २९ हजारको हाराहारीमा भरिया छन्। कतिपय कोठामा चिउरा र सुख्खा पाउरोटी खाएर बसेका छन् भने कतिपय खाना खोज्दै सडकमा आउन थालेका छन्।

‘हन्ड्रेड समूह’ ले निषेधाज्ञाका कारण समस्यामा परेका मजदुरलगायतलाई निःशुल्क खाना खुवाउन थालेपछि केहीको भोक मेटिएको छ तर यो पर्याप्त छैन। दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएक र असहायलाई काठमाडौंको खुला मञ्चमा हन्ड्रेड समूहले खाना खुवाउँदै आएको जानकारी अंशु यादवले दिए। ‘विभिन्न समाजसेवीले दिएको सहयोगबाट हामीले पाँच सयजना जतिलाई एक छाक खाना खुवाउँदै आएका छौं,’ उनी भन्छन, ‘ठूलो समस्याबीच यो हामीले गरेको सानो प्रयास हो।’ चैत १८ देखि नै निरन्तर सडकमा खाना खुवाउँदै आएकोमा केही दिनयता खुलामञ्चमा दैनिक दिउँसो ४ बजेपछि खाना खुवाउँदै आएको उनले बताए।

सरकारले चैत ११ बाट बन्दाबन्दी गरेको थियो। त्यसको अर्को साता असंगठित क्षेत्रका मजदुरलाई सरकारले खाना खुवाउने निर्णय गरेको थियो तर पछिल्लो बन्दाबन्दी (निषेधाज्ञा) मा उसले केही राहत नदिएको मजदुरको गुनासो छ।

सामान्य अवस्थामा पसिना बगाएर परिवार पाल्ने मजदुर रोजीरोटीको मेलो बन्द भएपछि मारमा छन्। ‘फागुनसम्म म रिक्सा चलाउँथें, पत्नी बालुवा बोक्थिन्,’ खुल्ला मञ्चमा खानाको खोजीमा आएका काइँला थोकरले भने, ‘काम नहुँदा अहिले हामी सबै भोकभोकै छौं।’ नौ महिनाका छोरा र तीन वर्षकी छोरीको साथ खानाका लागि लाम बसेका थोकेर दम्पती केही दिनयता मागेर पेट भर्ने गरेको सुनाउँछन्। ‘अरु केही विकल्प छैन,’ थोकरले भने, ‘काम गर्न पाए जीवन सजिलो हुन्थ्यो।’ राजधानीमा उनी जस्ता रिक्सा चालकको संख्या ५ सयभन्दा बढी छ भने निर्माण कार्यमा संलग्न मजदुरको सख्या अढाई लाख हाराहारीमा छ।

यी त कोभिड–१९ का कारण मारमा परेका मजदुरका केही प्रतिनिधि पात्र हुन्। खोज्दै जाँदा यस्ता मजदुर हजारौं हैन, लाखौंमा फेला पर्छन्, त्यो पनि सडकमै। विडम्बना, उनीहरूको समस्या बुझिदिनुपर्ने सरकार अझै गम्भीर देखिएको छैन।

प्रकाशित: २४ भाद्र २०७७ ००:५२ बुधबार

भोको पेट