समाज

‘फेरि भारी वर्षा हुन थाल्यो, अब केही दिन बाढीपहिरोको जोखिम’

प्रतिकात्मक तस्बिर

आज मंगलबारदेखि तीन दिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई सोमबार रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ ।  

मौसमविद् शान्ति कँडेलले आजदेखि तीन दिन नै मौसम बदली भई ठाउँठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइन् ।  

उनका अनुसार प्रदेश नं १ देखि प्रदेश नं ५ सम्म नै मौसम बदली भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तर नेपालतर्फ सरेको र स्थानीय वायुको पनि प्रभाव रहेको विभागले जनाएको छ ।  

आज बिहान तनहुँको स्याम्घा केन्द्रमा भारी वर्षा भएको र थप पर्षा हुने देखिएकाले मादीलगायत साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशखाले जनाएको छ ।  

यस्तै बिहान उदयपुर जिल्लाको उदयपुरगढी केन्द्रमा पनि भारी वर्षा भएको र थप वर्षा हुने देखिएकाले त्रियुगालगायत साना नदीमा आकस्मिक बाढी हुने सम्भावना छ ।  

त्यसको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्क रहन अनुरोध गरिएको छ । आज कोसी र नारायणी जलाधारका केही ससाना सहायक नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक वहाब भई सतर्कता आसपास पुग्न सक्ने जनाइएको छ ।  

यस्तै कन्काई, कमला, वाग्मतीका ससाना नदीको जलाधारमा बहाब बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने मौसम विभागले जनाएको छ ।  

मौसमविद् कँडेलले अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत मौसम बदली हुन थालेको जानकारी दिइन् । यसपटक भने प्रदेश १ देखि प्रदेश ५ सम्म बढी बदली हुने उनले बताइन् ।  

केही स्थानमा भारी वर्षा हुने भएकाले पहिरो र बाढीको जोखिम हुने जानकारी दिँदै सावधानी अपनाउन उनले अनुरोध गरेकी छन् ।  

प्रकाशित: २३ भाद्र २०७७ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App