समाज

देशभरका १३८ कैदीबन्दीमा कोरोना पुष्टि, पाँच जनाकाे मृत्यु

केन्द्रीय कारागारमा मात्रै ६५ जना संक्रमित, ९३ सुरक्षाकर्मीमा समेत संक्रमण

फाइल तस्वीरः केन्द्रीय कारागार सुन्धारा

देशभरका कारागारमा रहेका १३८ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। ११ कारागारका ८१५ जनको पिसिआर परीक्षण गर्दा १३८जनामा संक्रमण पुष्टि भएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए। उनकाअनुसार पिसिआर परीक्षण गरिएकामध्ये ८० जनाको अझैं रिपोर्ट आउन बाँकी छ।  

संक्रमण देखिएका १३८ जनामध्ये ५३ जना संक्रमणमुक्त भइसकेको छन् भने ७८ जना आइसोलेसनमा उपचाररत छन्। ‘धेरैजसो संक्रमितको अवस्था सामान्य छ। कडा खालको लक्षण पनि छैन।’ नागरिकसँग उनले भने।’

उनकाअनुसार संक्रमित हुनेमा केन्द्रीय कारागार सुन्धाराका मात्रै ६५ जना छन्। जसमध्ये दुई जना संक्रमणमुक्त भइसकेका छन् भने ५८ जना आइसोलेसनमा छन्।  पाँच जनाको भने ज्यान गइसकेको छ। उनीहरुको मृत्यु केन्द्रीय कारागारमा भएको भए पनि देशका विभिन्न कारागारबाट आएकाहरु हुन्। मृत्यु हुनेहरु ४० देखि ६० वर्ष उमेरका रहेको सापकोटाले बताए।  

कारागारका कैदीबन्दी मात्रै होइन सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ। विभागका सूचना अधिकारी सापकोटाका अनुसार देशभरका विभिन्न कारागारमा सुरक्षार्थ खटिएका ९३ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको छ। ४४४ सुरक्षाकर्मीको पिसिआर टेस्ट गरिएकोमा ९३ जनामा संक्रमण पुष्टि भएको सापकोटाले बताए। उनकाअनुसार संक्रमितमध्ये २५ जना संक्रमणमुक्त भइसकेका छन् भने बाँकी ६८ जना आइसोलेसनमा छन्।  

कारागारमा कसरी फैलियाे काेराेना ?

कारागारमा कोरोना कसरी फैलियो भन्नेबारे यकिन भन्न नसकिने उनले बताए। तर कैदीबन्दीलाई अस्पताल र अदालत लैजाँदा सरेको हुनसक्ने अनुमान उनले गरे। ‘कारागार आफैमा ‘आइसोलेटेट’ ठाउँ हो। यहाँ कसरी कोरोना फैलियो भन्ने यकिन भन्न सकिने अवस्था छैन। तर विभिन्न कैदीबन्दी बिरामी हुँदा अस्पताल लैजानुपर्छ। अदालत आउजाउ पनि हुन्छ। त्यहाँबाट पनि सरेका हुनसक्छ। तर यकिन भन्न सकिने अवस्था भने छैन।’ उनले भने।  

अब कारागारमा थप संक्रमण फैलिन नदिन सावधानी अपनाइएको उनले बताए। ‘संक्रमण देखिएकाहरुलाई अस्पतालमा राख्ने गरिएको छ।’ उनले अगाडि भने, ‘उनीहरुको 'कन्ट्याक्ट' मा आएकाहरुलाई 'ट्रेसिङ' गरेर टेस्ट गर्ने काम भइरहेको छ। कारागारभित्र सुरक्षा सावधानीहरु अपनाइएको छ। आइसोलेसन वार्ड बनाइएको छ।  मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने गरिएको गरिएको छ।’  

देशका विभिन्न कारागारमा कैदीबन्दीको चाप बढी भएकोले पनि जोखिम धेरै रहेको उनले बताए। केन्द्रीय कारागारमा मात्रै तीन वटा ब्लकमा गरी तीन हजार १ सय कैदैबन्दी रहेको उनले बताए।

प्रकाशित: २२ भाद्र २०७७ ०७:३४ सोमबार

कोरोना पुष्टि