समाज

हराएको तीन दिनपछि जंगलमा भेटियो अल्का अस्पतालका कर्मचारीको शव

बेपत्ता भएको तीन दिनपछि अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीया गीता केसीको शव शनिबार ललितपुरको जंगलमा फेला परेको छ। गोदावारी नगरपालिका–१० मुलडोलस्थित लेलेको जंगलमा उनको शव भेटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी तेक प्रसाद राईले बताए। प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको उनकाे भनाइ छ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले केसीको घरनजिकै रहेको भैंसीपाटी क्षेत्रबाट गीताकै आफन्त पर्ने निर्मल केसीलाई पक्राउ गरेको एसएसपीले राईले बताए।

'भैंसेपाटी बस्दै आएकी मृतक केसी सम्पर्कविहीन भएको भनि भदौं १७ गते खबर आएको थियो । हिजो शुक्रबार साँझ ७ बजेर ३० मिनेटमा लेलेको जंगलमा शव फेला पर्‍यो' एसएसपी राईले भने।  

प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट २ सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको उनले बताए।  

शनिबार बिहान मात्र उक्त शव केसीको भएको पुष्टि भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। पक्राउ परेका निर्मललाई अहिले ललितपुर प्रहरी परिसर जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

प्रकाशित: २० भाद्र २०७७ १०:०८ शनिबार

शव