समाज

प्रदेश २ मा थपिए २५२ संक्रमित, सप्तरीमा २ को मृत्यु

प्रदेश २ मा बिहीबार एकैदिन दुई सय ५२ नयाँ संक्रमित थपिएका छन् भने दुई जनाको संक्रमणबाट मृत्यु भएको छ। यससँगै प्रदेशमा संक्रमितको संख्या दश हजार आठ सय ८ पुगेको छ भने मृतकको संख्या ९७ पुगेको छ।  

सामाजिक विकास मन्त्रालयका अनुसार पर्सामा ६९, बारामा २५, रौतहटमा ४६, सर्लाहीमा ३०, महोत्तरीमा १९, धनुषामा ६३ जना नयाँ संक्रमित थपिएका छन्।  

यस प्रदेशमा सबैभन्दा बढी संक्रमित पर्सामा २ हजार ३ सय २ छ। संक्रमितको संख्या बारामा ९ सय ३८, रौतहटमा १ हजार ७ सय, सर्लाहीमा १ हजार ६ सय ४४, महोत्तरीमा १ हजार ३ सय २, धनुषामा १ हजार ६ सय ९७, सिराहामा ४ सय १२ र सप्तरीमा ८ सय ६ पुगेको छ।  

बिहीबार कोरोना संक्रमणबाट सप्तरीको राजगढ नगरपालिका ६ का ५५ वर्षीय पुरूष र राजबिराज ६ का ५० वर्षीय पुरूषको मृत्यु भएको छ। यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृतकको संख्या ८ पुगेको छ। सिराहामा ८, धनुषामा १२, महोत्तरीमा १०, सर्लाहीमा ३, रौतहटमा ५,  बारामा १५ र पर्सामा ३६ जनाको कोरोना संक्रमणबाट मृत्यु भैसकेको तथ्यांक छ।  

बिहीबार यस प्रदेशका १ सय ८३ जना निको भएर घर फर्केका छन्। यससँगै संक्रमण निको भएर फर्किनेहरुको संख्या ५ हजार २ सय ५४  पुगेको छ। यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ५८ छ।

प्रकाशित: १८ भाद्र २०७७ १३:१० बिहीबार