समाज

धादिङमा निशेधाज्ञा भदौ २३ सम्म लम्बियो

धादिङमा जारी रहेको निषेधाज्ञा केही खुकुलो बनाउँदै भदौ २३ गतेसम्म लम्बाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञालाई भदौ २३ गतेसम्म जारी राख्ने तर केही खुकुलो पारिने निर्णय गरेको छ। तेस्रो पटक थप गरिएको निषेधाज्ञाको मिति भदौ १६ गते सकिएपछि केही खुकुलो बनाउँदै एक हप्ता थप गरिएको हो।  

कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएको र समुदायस्तरमा पनि संक्रमित देखिन थालेपछि निषेधाज्ञा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए। ‘कोरोना भाइरस संक्रमणको जोखिम उत्तिकै छ’, उनले भने, ‘स्वास्थ्य र सुरक्षाका मापदण्डलाई कडाईका साथ पालना गर्दै बजार, व्यवसाय केही समयको लागि खुलाउने निर्णय गरेका हौँ ।’

प्रशासनले सूचना जारी गरी भदौ १७ गतेदेखि २३ गतेसम्म बिहान १० बजेबाट २ बजेसम्म बजार, व्यवसाय, बैंक तथा वित्तिय संस्थाहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको छ। बैक तथा वित्तीय संस्था संचालन सम्बन्धमा एक चौथाइ कर्मचारी राखेर मात्र सेवा दिन पाउने निर्णय गरेको छ। व्यापार व्यवसाय कलकारखाना, उद्योग संचालन गर्दा अनिवार्य मास्क, पञ्जा लगाउन आग्रह गरेको छ। तरकारी, औषधि, दुध फलफुलको पसल बाहेक श्रृगार व्यवसाय ब्युर्टि पार्लर, सैलुन, स्वमिङ पुल, जिमखाना, हेल्थ क्लबहरु भने पूर्ण रुपमा बन्द हुनेछ ।

सवारी संचालनको हकमा भने बिरामी बोक्ने तथा अत्यावश्यक सेवाबाहेक अन्य सवारी संचालनमा गर्न नपाउने जानकारी दिए। मर्निङ वाक तथा योगा गर्न निस्कन परेमा बिहान ४ बजेदेखि ७ बजेसम निस्कन पाउने, अन्य समयमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, टोल छिमेक तथा सार्वजनिक स्थलहरुमा भीड गरेर नबस्न, मास्कको उचित प्रयोग गर्न, साबुन पानीले नियमित हात धुन, स्यानिटाइजरको प्रयोग गर्न अनुरोध गरेको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रशासनले गत साउन २८ गतेदेखि भदौ ३ गतेसम्म पहिलो पटक निशेधाज्ञा जारी गरेको थियो। त्यसपछि दोस्रो पटक भदौ ९ गतेसम्म, तेस्रो पटक भदौ १६ गतेसम्म र चौथो पटक भदौ २३ गतेसम्मका लागि तोकिएको छ।  

प्रकाशित: १७ भाद्र २०७७ ०५:०८ बुधबार