समाज

कोरोनाले रोक्यो ऐतिहासिक इन्द्रजात्रा

फाइल तस्बिर।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाको प्रसिद्ध इन्द्रजात्रा पहिलो पटक रोकिएको छ । हरेक वर्ष भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चौथीसम्म कुमारी रथ यात्रासहित इन्द्रजात्रा मनाउने गरिएको थियो । तर,यस वर्ष रथ तान्‍न स्थगितपछि मंगलबार क्षमा पूजामा इन्द्रजात्रा सिमीत बनेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संकल्प पूजा ल्याएर देवताको घर/घरमा पूजा गरिएको गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जनाए । ‘संकल्प पूजाका लागि इन्द्रजात्रा व्यवस्थापन समिति र गुठी संस्थान काठमाडौं शाखाका पदाधिकारीले राष्ट्रपति कार्यालयबाट पूजा सामग्री ल्याएका थियौं,’ उनले भने, ‘इन्द्रजात्रा विधिवत रूपमा मनाउँदा केही दिन भए पनि मंगलबार सामान्य पूजा गरेपछि यस वर्षको इन्द्रजात्रा सकिन्छ ।’

मंगलबार कुमारी घरमा राष्ट्रपति कार्यालयबाट ल्याएको संकल्प पूजाको सामग्रीसहित गणेश, भैरव र कुमारीको पूजा गरिएको सुवेदीले बताए । कुमारीको क्षमा पूजा भदौ २१ मा गरिनेछ । नेवार समुदायमा इन्द्रजात्रा ‘येंया’ भनेर चिनिन्छ । नेपाल भाषामा ‘येंया’ भनेको काठमाडौंको जात्रा हो । येंयाः को अन्तिम दिन नानिचा याः नामले प्रसिद्ध छ । इन्द्रजात्रामा राष्ट्रप्रमुख प्रत्यक्ष उपस्थित भएर पूजा गर्ने प्रचलन थियो ।

यसअघि भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएर इन्द्रजात्रा सुरू हुने गरेको थियो । लिंगो ठड्याइएपछि वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गर्ने प्रचलन रहेको छ । हरेक वर्ष भदौ शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथ यात्रा र देवीदेवताको पूजाआजासहित काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, दोलखालगायतका ठाउँमा आठ दिनसम्म मनाउने प्रचलन छ ।

संस्कृतिविद डा. चुन्दा बज्रचार्यकाअनुसार लिच्छविकालदेखि इन्द्रजात्रा परम्पराको विकास भएको हो । नेपाल एकीकरण गर्ने क्रममा १८२३ सालमा इन्द्रजात्राको दिन काठमाडौंमाथि हमला गर्दा समेत जात्रा रोकिएको थिएन । ‘गोर्खाली सेनाले चारैतिरबाट आक्रमण गरेको कान्तिपुरले आफ्नो राज्य गुमाउँदा समेत जात्रा रोकिएको थिएन,’ उनले भनिन्, ‘यस वर्ष कोरोना भाइरस संक्रमणको त्रासका कारण वैदिक कालदेखि मनाउँदै आएको जात्रा रोकिएको हो । संक्रमण फैलिरहेको अवस्थामा इन्द्रजात्रा नमनाउनु बुद्धिमानी हो ।’

विभिन्न मठमन्दिरका पूजारी र गुठीहरू मिलेर क्षमा पूजा गरिएको थियो । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न शाक्यकाअनुसार सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्दै यस वर्ष मन्दिरमा पूजा सीमित गरिएको हो । इन्द्रजात्राको क्रममा भदौ शुक्ल चतुर्दशीको दिनदेखि काठमाडौंको वसन्तपुुर गद्दीबैठक अगाडिबाट जीवितदेवी कुमारीको रथजात्रा सुरू हुने प्रचलन छ । यो अन्तिम दिनसम्म कायम रहन्छ । यस अवसरमा भव्य कलात्मक रथमा जीवित देवी कुमारीलाई विराजमान गराई नगरपरिक्रमा गराइन्छ ।  

जीवित देवी कुमारीसहित जीवित देव गणेश र भैरवको रथ तानिन्छन् । जात्राका क्रममा पहिले गणेश, भैरव र अन्तमा कुमारीको रथ तानिने परम्परा छ । शाक्यका अनुसार पन्ध्रौं शताब्दीमा इन्द्रजात्रा लोकप्रिय भइसकेको थियो । मल्लकालमा राजा प्रताप मल्लले जिवित कुमारी राख्ने परम्परा स्थापित गरेका थिए । अन्तिम मल्ल राजा जयप्रकाश मल्लले कुमारी, भैरब र गणेशको रथयात्रा गराउने तथा वसन्तपुरमा कुमारी घरको व्यवस्था गरेका थिए । कुमारीलाई नारी शक्ति, भैरबलाई पुरुष शक्ति र गणेशलाई मंगल शक्तिको प्रतिकका रूपमा लिइन्छ ।  

पछिल्ला वर्षमा जात्राको क्रममा देवी नाच, महाकाली नाच, लाखेनाच, टालाङ्ंकिसी नाच, दश अवतार नाच लगायत प्रदर्शन हुँदै आएको छ । अतिरिक्त मानिसको मनोरञ्जन वा सामाजिक दुुःख सुुख अभिव्यक्त गरिने माध्यमको रूपमा रहेको इन्द्रजात्राको विशेष महत्व छ । भदौ शुक्ल वामन द्वादशीको साँझ दीपयात्रा (मतछोयेके) गरेर आफ्ना पितृको सम्झना गरिने प्रचलन छ । चतुर्दशीको दिनमा साँझ डाकिनी जात्रा हुन्छ । डाकिनी जात्रामा सहभागी बनेर दहचोक डाँडामा अवस्थित यंकी दह (इन्द्रदह)मा गएर स्थान गरी फर्कने परम्परा छ । भदौ शुक्ल चतुर्दशीको दिनमा वसन्तपुरको गद्दी बैठकअगाडि कुमारी, गणेश, भैरवलाई रथमा आरोहण गराइन्छ ।  

त्यस्तै पूर्णिमाको दिनमा काठमाडौंको माथिल्लो टोलहरू प्याफल, नरदेवी, बांगेमुढा, न्हैकन्तला, असन, इन्द्रचोक हुँदै हनुमानढोका पुगेपछि श्वेतभैरव अगाडि पुग्दा जाँडरक्सीको प्रसाद बाँड्ने रोचक परम्परा छ । श्वेतभैरवको मुखबाट झारिएको जाँड प्रसादको रूपमा ग्रहण गर्न श्रद्धालुहरू तँछाडमछाड गरिरहेको दृश्य रोचक देखिन्छ । आश्विन कृष्ण चौथीको दिनमा राष्ट्रप्रमुखले कुमारीको हातबाट टीका ग्रहण गरेपछि इन्द्रजात्रा सकिन्छ ।  

प्रकाशित: १७ भाद्र २०७७ ०३:०३ बुधबार

ऐतिहासिक इन्द्रजात्रा कोरोना भाइरस निषेधाज्ञा