समाज

एक सय ४६ किलो गाँजासहित एक जना पक्राउ

धमाधम लागुऔषध समाउँदै प्रहरी

विराटनगर महानगरपालिका–१७स्थित आइसिपी (एकीकृत जाँच चौकी) जाने सडकबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको गाँजासहति एक जनालाई पक्राउ गरेको छ।  

सशस्त्र प्रहरीको विराटनगरस्थित बोडर आउट पोष्ट (बिओपी)को टोलीले ट्याक्टरमा लोड गरेर भारत लैजाँदै गरेको १ सय ४६ केजी गाँजासहित चालकलाई सोमबार साँझ पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।सोमबार साँझ साढे ७ बजेतिर चालक सुनसरी गढी–३ का ३४ वर्षीय सुरेशकुमार मेहतालाई को २ त ६०५७ नम्बर ट्याक्टरमा लागुऔषध गाँजा लैजाँदै गर्दा बिओपीको टोली पक्राउ गरेको हो।

यसै साता मात्रै नेपाल प्रहरीले १४ किलो गाँजा सीमा क्षेत्र मोरङको जहदाबाट बरामद गरेको थियो। लकडाउन भएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मोरङ, सुनसरी र झापाको छुटाछुट्टैस्थानबाट अन्तर्राष्ट्रिय बजारमा महँगो दरमा बिक्री हुने लागुऔषधसहित अन्य लागुऔषध दैनिकी जस्तो बरामद गर्दै आएको छ। खुला सीमाका कारण र कोरोना भाइरसले गर्दा प्रहरीले सीमामा ध्यान दिँदैन भन्ने आशंकामा विभिन्न खाले तस्करी र लागुऔषधको कारोबार बढ्ेको देखिन्छ।

सशस्त्र प्रहरीका अनुसार सुनसरीको धरान, इटहरी र दुहबीहुँदै विराटनगर बिहान १० गाँजा भित्रिएको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको नेतृत्वको टोली सक्रिय भई दिनभर मेहनत गरेर साँझ आइसिपी नजिकबाट नियन्त्रणमा लिन सफल भएको हो। ट्याक्टरमा गाँजा भारत जाने गरेको सूचना पाएको सशस्त्रको टोली दुई महिनादेखि खोजी कार्यमा भइरहेको थियो। गाँजा लोड गरिएको ट्याक्टर विराटनगर बिहान आए पनि दिभरि लुकाएको र साँझमा सुरक्षाकर्मीलाई छल्दै भारत कटाउने प्रयास गर्दै गर्दा नियन्त्रणमा लिन सकिएको सशस्त्र प्रहरीले जनाएको छ।  

‘हाम्रो टोलीले यो गाँजा समाउन कडा मेहनत गरेको छ। दिनभरि ट्याक्टरको खोजी र सीमामा कडाइ गरेर आइसिपी नजिकबाट पक्राउ गर्न सफल भयौं,’सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले भने, ‘प्लाष्टिकमा प्याक गर्दै ट्याक्टरको पछाडिको ट्रलीमा ‘फल्स बटन’ बनाएर त्यहाँभित्र लुकाएको अवस्थामा एक सय २७ पोका गाँजा बरामद भएको हो। ट्रलीमा बनाइएको ‘फल्स बटन’मा गाँजा बाहेक ट्याक्टर पूरै खाली रहेको थियो।’  

पक्राउ परेका चालक मेहताले भने आफूले विराटनगरको शनिमन्दिरबाट ट्याक्टर चलाउन थालेको बताए पनि गाँजा कसको र कहाँ लैजानु पर्ने हो भन्ने नखुलाएको सशस्त्र प्रहरीले जनाएको छ।  

‘चालकसँग सशस्त्रको टोलीले ट्याक्टरको कागजपत्र मागे पनि उसले देखाउन सकेन,’ सशस्त्रका एसपी पौडेलले भने, ‘त्यसपछि खानतलासी गर्दा व्यवस्थित रूपमा बनाएको ‘फल्स बटन’भित्र लुकाएर राखेको लागुऔषध गाँजा बरामद भएको हो।’

सशस्त्रले बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको ट्याक्टरसहित चालकलाई सोमबारराति आवश्यक कारबाही अघि बढाउन इलाका प्रहरी प्रहरी कार्यालय रानीको जिम्मा दिएको सशस्त्र प्रहरीले जनाएको छ। चालकविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने इप्रका रानीले जनाएको छ। प्रदेश १ धनकुटालगायतको पहाडी जिल्लामा गाँजा खेती हुने गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०७७ ०६:४१ मंगलबार

लागुऔषध