समाज

बाँकेमा पहिलो पटक ‘प्लाज्मा थेरापी’ बाट उपचार

बाँकेमा पहिलो पटक कोरोना भाइरस संक्रमितको ‘प्लाज्मा थेरापी’ बाट उपचार सुरु गरिएको छ। भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका सल्यानका २९ वर्षीय संक्रमित पुरुषको सोमबारबाट उपचार सुरु गरिएको हो। बिरामीका लागि नेपालगन्ज–१ का वडाअध्यक्ष एवम् उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले प्लाज्मा दान गरेका हुन्।  

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर प्रकाश थापाले पहिलो पटक प्लाज्मा थेरापीबाट बिरामीको उपचार सुरु गरिएको बताए। ‘बिरामीको अवस्था गम्भिर भएको हुँदा दाताले दिएको प्लाज्मा चढाएर उपचार सुरु गरेका छौं,’ उनले नागरिकसँग भने। कोरोना संक्रमित ब्यक्तिमा श्वासप्रश्वास, ज्वरो र खोकी सम्बन्धी समस्या देखिएको अस्पतालले जनाएको छ। उनी भेरी अस्पतालमा विगत तीन दिनदेखी भर्ना छन्।  

कोरोना भाइरस संक्रमण भएपछि रिजाल केही साताअघि निको भएर खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट घर फर्केका थिए। उनले त्यति बेला नै आफुले कोरोना भाइरस सम्बन्धी गम्भिर अवस्थाका बिरामीका लागि प्लाज्मा दान गर्ने घोषणा गरेका थिए। रिजालसहित प्रदेश पाँचका सांसद कृष्णा केसी, पत्रकार खगेन्द्र दाहाल लगायतले पनि प्लाज्मा दान गर्ने यसअघि घोषणा गरिसकेका छन्। प्लाज्मा दान गरिसकेपछि वडाअध्यक्ष रिजालले मानवीय सेवा गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताए।  

कोरोना संक्रमण भएर पनि निका भइसकेका अन्य ब्यक्तिलाई पनि प्लाज्मा दान गर्न उनले आग्रह गरेका छन्। ‘मानवीय धर्मका लागि यो भन्दा उत्कृष्ठ योगदान अरु हुन् नसक्ने भन्दै प्लाज्मा दान गर्न हार्दिक अनुरोध तथा अपिल  गर्दछु,’ उनले भनेका छन्। प्लाज्मा दान गर्दा आफुलाई कुनैपनि किसिमको शारिरीक  समस्या नभएको बरु सामाजिक सम्मानका साथै आत्मसन्तुष्टि मिलेको रिजालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। सरकारको मापदण्ड अनुसार बाँकेमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजले मात्र प्लाज्मा थेरापीबाट कोरोना भाइरस संक्रमितको उपचार गर्न पाएका छन्।  

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले आवश्यकता अनुसार अन्य ब्यक्तिले पनि प्लाज्मा दान गर्न तयार रहेको बताए। ‘प्रदेश सभाका माननीय ज्युले पनि यसअघि नै प्लाज्मा दान गर्ने घोषणा गरिसक्नु भएको छ, कोरोना पोजेटिभ भई निको भएर २८ दिन काटिसकेका अरु धेरै ब्यक्तिहरु दान गर्न इच्छुक हुनुहुन्छ,’ उनले भने। उनका अनुसार कोरोना भाइरस संक्रमण भएर निमोनिया भएका र श्वासप्रश्वासको जटिल समस्या भएका बिरामीको प्लाज्मा थेरापीबाट उपचार गरिन्छ।  

 

 

 

प्रकाशित: १५ भाद्र २०७७ १३:१७ सोमबार

कोरोना भाइरस