समाज

कालिकोट पहिरोमा ज्यान गुमाउनेको संख्या १० पुग्यो (अपडेट)

कालिकोेट जिल्लाको तिलागुफा नगरपालिका १ नाग्म बजारमा आएको सुख्खा पहिरोमा परि मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ। दुई जना सामान्य घाइते भएका छन्। आइतबार बिहान ८ बजे घरमाथिबाट आएको पहिरोले तीन घर पुरिएका थिए। निषेधाज्ञाका कारण बजार बन्द हुुने भएकोले सबै घरपरिवार घरमै बसेका थिए। त्यसैले पहिरोमा ठूलो क्षति भएको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पहिरोमा परि मृत्यु हुनेमा कालिकोट शुभकालिका गाउँपालिका ७ का ४० बर्षिया प्रयाग शाही, ८ बर्षकी हिमा शाही, ५ बर्षका निराजन शाही र दुइ महिनाको अकल शाही रहेका छन्। उनीहरु सबै एकै परिवारका हुन्। नाग्म बजारमा उनीहरुले किराना पसल खोलेर बसेका थिए।    

यसैगरी ब्यापारिक सामान खरिदका लागि गाउँबाट झरेका तिलागुफा नगरपालिका १ का ३० बर्षिय तेजबहादुर दमाई, उनकी पत्नी छोइली दमाई र ६ बर्षको छोरा गजेन्द्र दमाइको पनि पहिरोमा परि मृत्यु भएको प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए।  

तिलागुफा नगरपालिका एक की ३५ वर्षिया मञ्जु कटुवाल, सुर्खेत भेरिगंगा नगरपालिका १० छिन्छुका ४६ बर्षिया आइती खड्का र बिरेन्द्रनगर नगरपालिका बस्ने २२ बर्षिय अमृत थापाको् मृत्यु भएको हो। पहिरोमा परि कालिकोट तिलागुफा नगरपालिका १ वस्ने बर्ष ११ का अर्जुन हमाल र जुम्ला हिमा गाउँपालिका बस्ने पन्ना शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ।  

बिहान ८ बजे खसेको पहिरो पन्छाउन एक दिनभरी लागेको थियो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयतको सक्रियता पहिरो पन्छाएर मृतकको शव निकाल्ने काम भएको थियो। बजारमै पहिरो गएपनि नाग्म बजारका स्थानीय त्रासिद अवस्थामा छन्।

तिलागुफा नगरपालिकाको नाग्म बजारमा पहिलो पटक ठूलो पहिरो गएको हो। तल तिला नदिले कटान गरिरहेको र माथिल्लो भागमा पहिरोको उच्च जोखिम भएकोले बजार व्यवस्थापनको लागि पहल गर्न स्थानीयले माग गरेका छन्।

प्रकाशित: १५ भाद्र २०७७ ०८:०३ सोमबार

कालिकोट पहिरो