समाज

कर्णाली नदीको धार परिवर्तन, दर्जन बढी बस्ती जोखिममा

नदी कटान भैरहेको ठाउँ। तस्विर: योगेश रावल

कर्णाली नदीले धार परिवर्तन गरेपछि आसपासका क्षेत्रमा जोखिम बढेको छ। बर्दिया र कैलालीको सीमा हुँदै बग्ने नदीको धार पश्चिम कैलालीतर्फ मोडिएको छ। नदीको बहावले टीकापुर नगरपालिका–२ मुलपानी नजिकै ५० मिटर तटबन्ध भत्काएको छ।  

विगत ४ वर्षअघि निर्माण भएको तटबन्ध भत्किएको हो। भत्किएको तटबन्ध भन्दा पछाडि रहेको माटोको ढिस्कोले नदीको बहावलाई छेकेको छ। अहिले पनि सो ठाउँमा नदीले तिब्र कटान गरिरहेको छ। कुनैपनि बेला माटोको ढिस्को भत्किए नदीको बहाव गाउँ पस्ने खतरा बढेको छ।

नदी गाउँतर्फ मोडिए थुप्रै बस्तीमा क्षति हुने देखिन्छ। नदीको चपेटामा नुक्लीपुर, शाहीपुर, सिमरेनी, सत्ती, सूर्यपुर, बटनपुर लगायतका दर्जन बढी गाउँ पर्ने सम्भावना रहेको छ।  

नदीले हरेक वर्ष धार परिवर्तन गर्दै आएको छ। कहिले पूर्वतर्फ बर्दिया त कहिले पश्चिमतर्फ कैलालीको भूभाग कटान गर्ने गरेको छ। नदीको मध्य भागमा जमेको ढिस्को (ढुंगा र बालुवाको थुप्रो) का कारण नदीले हरेक वर्ष धार परिवर्तन गर्ने गरेको स्थानीय बताउँछन्। यसवर्ष समेत मुलपानी नजिकै नदीको मध्य भागमा ठूलो ढिस्को जमेको छ। जसले नदीको बहावलाई पश्चिमतर्फ धकेलेको छ।    

रानी जमरा कुलरीया सिँचाई जल उपभोक्ता संस्थाका उपाध्यक्ष लालबिर चौधरी नदीको मध्य भागमा जमेका यस्ता ढिस्को हटाउनु पर्ने बताउँछन्। उनी यस्ता ढिस्कोले भविष्यमा ठूलो संकट निम्त्याउने सम्भावना रहेको बताउँछन्। ‘ढिस्कोले नदीको धार फेरिएको मात्रै हैन नदीको सतह समेत माथि उठेको छ’ उनले भने–‘नदी एकोहोरो बग्ने गरी ढिस्को हटाउनु पर्छ।’

स्थानीयका अनुसार नदीको धार फेरिनुमा मध्य भागमा जमेको ढिस्को एक मात्रै कारण भने होइन। नदीको अनियन्त्रित दोहनले पनि धार फेरिने गरेको छ। पछिल्ला वर्षहरुमा स्थानीय पालिकाहरुले ढुंगा बालुवा संकलनको ठेक्का दिने गरेका छन्। यसरी ठेक्का पाएका व्यक्तिहरुले नदीको अनियन्त्रित दोहन गर्ने गरेका छन्। जसले नदीको धार फेर्नमा मुख्य भूमिका निर्वाह गर्ने गरेको पाइएको छ।  

उपाध्यक्ष चौधरी ढुंगा बालुवा संकलनको ठेक्का दिँदा र संकलन गर्दा स्थानीय पालिकाले ध्यान दिनुपर्ने बताउँछन्। उनी बर्दिया र कैलालीतर्फका सबै स्थानीय पालिकाको सहमतिमा ढुंगा बालुवा संकलन हुनुपर्ने सुझाव दिन्छन्।  

कर्णाली नदीसँग बर्दियातर्फ राजापुर नगरपालिका र गेरुवा गाउँपालिका जोडिएका छन भने कैलालीतर्फ टीकापुर, नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिका जोडिएका छन्। कर्णाली नदीको जोखिम व्यवस्थापन र उपभोग ती सबै पालिकाको साझा मुद्दा बन्नुपर्ने स्थानीय बताउँछन्।  

कैलालीतर्फ रानी जमरा कुलरीया सिँचाई आयोजनाले नदी कटान रोकथामको काम गरिरहेको छ। उसले विगत केही दिन देखी मुलपानीमा भैरहेको नदी कटान रोकथामको प्रयास समेत गरिरहेको छ। आयोजनाले नदीको बहावलाई फर्काउन गरेको प्रयास विफल भएको छ। नदीले झनझन कटान तिब्र पारेपछि आयोजनाले विपद व्यवस्थापन समितिलाई गुहारेको छ।  

टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावल लगायत विपद व्यवस्थापन समितिमा आवद्ध संघसंस्थाका प्रमुखहरुको टोलीले नदी कटानको स्थलगत निरिक्षण गरेको छ। स्थलगत निरिक्षण पश्चात बसेको विपद व्यवस्थापन समितिको बैठकले रोकथामको प्रयासलाई प्रभावकारी बनाउने गरी काम थाल्ने निर्णय गरेको छ।  

बैठकले नदी कटान रोकथाममा सेना, सशस्त्र, नेपाल प्रहरीका साथै स्थानीय बासिन्दाको सहयोग रहने निर्णय गरेको छ। सिँचाई आयोजनाका सिनियर डिभिजन इन्जिनियर बिदुर श्रेष्ठले नदी कटान रोकथामको काम सुरु भएको जानकारी दिए। उनले आयोजनाका तर्फबाट प्राविधिक र मेसिनरी सहयोग रहेको बताए।

प्रकाशित: १५ भाद्र २०७७ ०५:५९ सोमबार

कर्णाली नदी धार परिवर्तन