समाज

प्रजिअलाई फेसबुकमा गाली गर्ने व्यापारी पक्राउ

सामाजिक सञ्जालमा सुर्खेतका प्रमुख जिल्ला अधिकारीलाई गाली गरेको आरोपमा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ। कोरोना संक्रमण बढ्दै गएका बेला निषेधाज्ञा हटाउने गरेको निर्णयको आलोचना गर्दै फेसबुकमा सिडियोविरुद्ध अपशब्द लेखेका वीरेन्द्रनगर–१२ का युवा राजन चालिसे पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले सामाजिक सञ्जालमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई गालीगलौज गर्ने युवकलाई शनिबार पक्राउ गरिएको बताए। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भदौ एक गतेदेखि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा १२ गतेदेखि हटाउने निर्णय गरेको थियो। यो निर्णयको विरोध गर्दै ति युवाले सामाजिक सञ्जालमा आफु सुरक्षित छु भन्दैमा जनता मार्ने भन्दै अपशब्दसहित प्रश्न गरेका थिए।

डिएसपी घर्तीले पक्राउ परेका युवकविरुद्ध अभद्र व्यवहारमा मुद्धा चलाइएको बताए। ‘फेसबुकमा गालीगलौज गरेकाले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ डिएसपी घर्तीले भने, ‘अभद्र व्यवहार अन्र्तगत मुद्धाको प्रक्रिया अघि बढेको छ।’ स्रोतका अनुसार प्रजिअ रेग्मीले आफुलाई गाली गर्ने व्यक्तिलाई पक्राउ गरेर कारवाही गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएका थिए।

प्रकाशित: १५ भाद्र २०७७ ०२:३२ सोमबार

फेसबुकमा गाली