गाउँगाउँमा कोरोना संक्रमण देखिएपछि एक अर्को गाउँबिचको आउजाउ बन्द गर्न सुरु गरिएको छ। धादीङसँग सिमाना जोडिएको गोरखाको झोलुङ्ले पुलहरुमा स्थानीयले बार लगाउने, आउजाउ रोक्न प्रहरी परिचालन समेत गरिएको छ।
भिमसेन थापा गाउँपालिका ८ घाटबेसी र त्रिपुरा सुन्दरी गाउँपालिका सल्यान्टार जोड्ने पुलमा आजदेखि प्रहरी खटिएका छन्। ‘त्रिपुरा सुन्दरी गाउँपालिकामा कोरोना संक्रमित बढेपछि पुलबाट हुने आउजाउ रोक्न प्रहरीलाई खबर गरेका हौँ’ गाउँ कार्यपालिका सदस्य एवं वडा सदस्य सरिता भट्टले भनिन्। उक्त पुल भएर ओहोरदोहोर धेरै हुने भएकाले प्रहरी परिचालन गर्नु परेको उनले बताइन्।
दुई जना प्रहरी र दुई जना स्थानीय युवा आलोपालो दिनभर पुलमा ड्युटी बस्न थालेका छन्। सल्यान्टारका कतिपय मानिसको खेतीपाती र गोठ घाटबेसी तर्फ रहेकाले उनीहरुलाई भने सुरक्षित भएर आउजाउ गर्न अनुरोध गरिएको उनले बताईन। अनावश्यक आउजाउ गर्नेलाई प्रहरीले फिर्ता पठाउने गरेको पुलमा खटिएका स्थानीय रुपक ढकालले बताए।
शनिवार मात्रै त्रिपुरासुन्दरी गाउँपालिकामा ८ जना कोरोना संक्रमित भेटिएका थिए। समुदायमा कोरोना फैलिएको आशंका पछि आरुघाट गाउँपालिका र बिसालटार जोड्ने पुलमा पनि बार लगाइएको छ। स्थानीयले पुलमा भाँझो हालेर अवरुद्ध गरेका छन्। झोलुङ्गे पुलमा हिँडडुल गर्न मिल्ने अवस्था छैन।
प्रकाशित: १४ भाद्र २०७७ ०५:०८ आइतबार