समाज

बाँकेमा झारफुक गर्ने बहानामा बाबाले गरे २ महिलालाई बलात्कार

प्रतिकात्मक तस्बिर

बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर (पुजारी) बलात्कार अभियोगमा पक्राउ परेका छन् ।  

हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गरिरहेका पुजारी नजिर मोहम्मद साईले झारफुक गर्ने बहानामा दुई महिलालाई बलात्कार गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए ।  

उनका अनुसार यही भदौ १० गते राति नेपालगन्जबाट झारफुकका लागि हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा पुगेका ३० र २८ वर्षका दुई महिलालाई रातको समयमा झारफुक गर्ने बहानामा बोलाएर बलात्कार गरेको जाहेरीका आधारमा उनलाई यही भदौ ११ गते बेलुका पक्राउ गरिएको हो ।  

पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको टोलीले ४० वर्षीय साइलाई पक्राउ गरेको हो ।  अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।  

पक्राउ परेका मजारका मुजावीर ‘मुसे’ बाबाका नामले परिचित छन् । हिन्दू र मुस्लिम समुदायको आस्थाको धरोहरका रूपमा रहेको हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा बर्सेनि ठूलो मेला लाग्ने गर्छ ।  

प्रकाशित: १३ भाद्र २०७७ ११:५३ शनिबार

बलात्कार