समाज

मोरङमा कोरोना संक्रमितको शव अलपत्र

विराटनगरस्थित न्यूरो अस्पतालमा चार दिन अघि कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएपछि शव अलपत्र परेको थियो। जिल्ला प्रशासन कार्यालय मोरङले शव व्यवस्थापनका लागि शनिबार महोत्तरी पठाएको छ।

महोत्तरी घर भएका ६१ वर्षीय पुरुषको न्यूरो अस्पतालको आइसोलेनमा राखेर उचारका क्रममा मंगलबार राति ११ बजेतिर मृत्यु भएको थियो। मृतकका आफन्त र परिवारका सदस्य कोही पनि सम्पर्कमा नआउँदा र महोत्तरी प्रशासनले चासो नदिँदा चार दिनदेखि शव अस्पतालको शव गृहमा राख्नु परेको अस्पतालले जनाएको छ।  

‘बिरामी अस्पताल भर्ना गर्दा उनका छोरा कुरुवाका रूपमा थिए। तर बिरामीको मृत्यु भएपछि न छोरा सम्पर्कमा आएन न परिवारका अन्य सदस्य नै,’ अस्पतालका निर्देशक इन्जिनियर रञ्जितराज बस्नेतले भने, ‘मृतकका परिवार सम्पर्कमा नआएपछि हामीले मोरङको प्रहरी, प्रशासनलाई खबर ग¥यौं। शव व्यवस्थापनका लागि महोत्तरी प्रशासनमा सम्पर्क ग¥यौं र अन्तिममा केही नभएपछि शव अस्पतालले शव गृहमा लगेर राख्यौं।’  मोरङ प्रशासनको पहलमा ४ दिनमा उनको शव सम्बन्धित जिल्लामा पठाउने काम भयो, बस्नेतले भने।  

टाउकाको नसा सुकेर प्यारालाइसिस भएका पुरुषलाई साउन ३१ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। कोरोनाको आंशकामा भदौ ३ गते स्वाब संकलन गरेर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपछि अस्पतालले तयार गरेको आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा राख्दै उपचार थालिए पनि संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। मृतकको उपचारका क्रममा लागेको अस्पतालतर्फको दुई लाख २५ हजार र फार्मेसीतर्फको ७० हजार रुपैयाँ छुट गरेको निर्देशक बस्नेतले बताए।  

‘महोत्तरी प्रशासनसँगसमन्वय गर्दै खोजी गरिए पनि मृतकका परिवारका सदस्य तथा आफन्त भेट्न सकिएन र उनीहरु पनि सम्पर्कमा आएनन्,’ मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने, ‘त्यही भएर मोरङ प्रशासनकै पहलमा एम्बुलेन्सको सबै खर्च बेहोर्दै संक्रमितको शव व्यवस्थापन गर्न महोत्तरी पठाइएको हो।’

प्रकाशित: १३ भाद्र २०७७ ११:५१ शनिबार

कोरोना संक्रमित शव अलपत्र