समाज

कोरोना नियन्त्रण र व्यवस्थापन गर्न उपमहानगरपालिकाको ४ करोड बढी खर्च

नेपालगन्ज उपमहानगरपालिका कार्यालय ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले चार करोडभन्दा बढी रकम खर्च गरेको छ । उपमहानगरपालिका कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा यस्तो जानकारी दिइएको हो । पत्रकार भेटघाटमा नगर उपप्रमुख उमा थापामगरले कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि ४ करोड ७ लाख ४७ हजार ७ सय ७० रुपैयाँ खर्च भएको जानकारी दिइन् ।

उनका अनुसार उपमहानगरपालिकाले स्वास्थ्य सामाग्री खरिदमा ३० लाख ९३ हजार ६ सय ७२, भाडामा बसेकाहरुलाई राहत वितरण गर्न ५१ लाख १६ हजार ४ सय १२, क्वारेन्टिन तथा आइसोलेसन सञ्चालन तथा ब्यवस्थापन गर्न ५६ लाख ७७ हजार १ सय ६२, जिल्ला विपद ब्यवस्थापन कोष सहयोग गर्न १२ लाख ५० हजार र विविध खर्चमा ७६ हजार २ सय ७४ रुपैयाँ गरी एक करोड ५२ लाख १३ हजार ५ सय २० रुपैयाँ खर्च गरेको छ । यस्तै उपमहानगरपालिकाको २३ वटै वडा कार्यालयमार्फत कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन गर्न २ करोड ५५ लाख ३४ हजार २ सय ५० रुपैयाँ खर्च भएको छ ।  

कोरोना भाइरस नियन्त्रण तथा ब्यवस्थापनका लागि संघिय सरकारबाट ८१ लाख ३७ हजार ५ सय ७५, प्रदेश सरकारबाट २५ लाख र उपमहानगरपालिकाबाट ४५ लाख गरी १ करोड ५१ लाख ३७ हजार ५ सय ७५ रुपैयाँ संकलन भएको थियो । यस्तै ब्यवसायिक फर्मबाट २ लाख ३ हजार, संघ संस्थाबाट २ लाख ३१ हजार ५ सय, बैंक वित्तीय सहकारी तथा लघुवित्तिय संस्था संस्थाबाट २ लाख ८१ हजार १ सय ११, विभिन्न ब्यक्तिबाट ९८ हजार १ सय १५, कर्मचारीबाट ११ लाख ९९ हजार ७ सय ७३ गरी कुल एक करोड ७१ लाख ७८ हजार एक सय ४६ रुपैयाँ संकलन भएको थियो ।

उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारिन्टिनमा हालसम्म २ हजार १ सय ९३ जना बसेका छन् । उपमहानगरपालिकाले ३ वटा आइसोलेसन र एउटा क्वारेन्टिन सञ्चालन गर्दै आएको छ । कोरोना भाइरस नियन्त्रण तथा ब्यवस्थापनमा बाँकेका ८ वटै स्थानीय तहले ठुलो परिमाणको रकम खर्च गरेका छन् ।

प्रकाशित: १२ भाद्र २०७७ १४:२८ शुक्रबार

उपमहानगरपालिका कोरोना नियन्त्रण