समाज

चितवनमा कोरोना संक्रमणबाट एकै दिन तीनजनाको मृत्यु

भरतपुर अस्पताल।

चितवनमा कोरोना संक्रमण (कोभिड–१९) बाट शुक्रबार एकै दिन तीनजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका –२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष, हेटौडा उपमहानगरपालिका–१९ का ७१ वर्षीया महिला र गोरखाको आबुखैरहनी –१३ का ३८ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पताल चितवनका कोभिड–१९ क्लिनिकल को अडिनेटर डा. प्रमोद पौडेलले जानकारी दिए।  

चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको बिहान ७ बजे मृत्यु भएको हो। अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार श्वासप्रश्वासको समस्या भइ जटिल अवस्थामा भदौं ७ गते विहान चितवन मेडिकल कलेजको इमरजेन्सी विभागमा उपचारका लागि ल्याइएको थियो। सोही बेला कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनलाई अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। कोभिड–१९ बाट चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु हुने उनी पहिलो व्यक्ति हुन्।  

त्यस्तै भरतपुर–१० स्थित श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत संक्रमितको पनि मृत्यु भएको अस्पतालले जनाएको छ। भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको विहान १० बजे मृत्यु भएको अस्पतालका फिजिसियन तथा कोभिड–१९ फोकल पर्सन डा.सन्दिप पाण्डेले जानकारी दिए। डा.पाण्डेका अनुसार ती पुरुष लामो समय देखि फोक्सोको दमको बिरामी रहेको र अस्पतालमा भर्ना हुने समयमा पनि दुवै फोक्सोमा गम्भिर निमोनिया देखिएको कारणले भेन्टिलेटरमा राखी उपचार गराइएको थियो।  

भदौ ५ गते बिहान श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि अस्पताल भर्ना भएका ती पुरुषको भदौं ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो। भेन्टिलेटरमा उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ। 

त्यस्तै गोरखा आबुखैरहनी–१३ का ३८ वर्षीय पुरुषको पनि चितवनमा मृत्यु भएको छ। भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचाररत पुरुषको दिउँसो २ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले जानकारी दिए। ती पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भदौं ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए। भदौं १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोभिड आइसीयू राखी उपचार गरिरहेकोमा मृत्यु भएको डा.पौडेलले जानकारी दिए ।

चितवनमा कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ। चितवन जिल्लाभरका चार जना, मकवानपुरका तीन जना, कैलाली र गोरखाका एक/एक जनाको मृत्यु भएको छ।  

प्रकाशित: १२ भाद्र २०७७ ११:१५ शुक्रबार