समाज

व्यापारीलाई भाइरसले भेटिसक्दा पनि कालीमाटी तरकारी बजारमा यस्ताे लापर्बाही !

फाइल तस्बिर : कालीमाटी तरकारी बजार

काठमाडौंको कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ ।  

व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलगाएको पाइएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो । यसअघि नै कालीमाटीका तरकारी व्यापारीमा कोरोना भाइरस देखिसकेको अवस्था भए पनि सावधानी भने छैन ।  

काठमाडौँ महानगरको कृषि विभागको अगुवाइमा शुक्रबार  बिहान अनुगमन टोली त्यहाँ पुग्दा अवस्था सामान्य बेलाजस्तै थियो । हरेक दिन काठमाडौँ उपत्यका र त्यसमा पनि काठमाडौँ जिल्लामै भाइरसका बिरामी बढ्दो रूपमा थपिने क्रम जारी छ ।  

दैनिक औसतमा ५०० मेट्रिक टन तरकारी तथा फलफूल बिक्री हुने यस बजारमा ४५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन् । आफ्नो नजिकको बजारभन्दा तरकारी र फलफूल सस्तो पाइने भनेर उपभोक्ता कालीमाटी जान थालेपछि कालीमाटी तरकारी तथा फलफूल बजार भीड बढेको अनुगमन टोलीको निष्कर्ष छ ।  

कोभिड महामारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि आयात घटेर मूल्य बढेको भन्दै गुनासो आएपछि महानगरपालिकाले अनुगमन सुरु गरेको हो । त्यस क्रममा थोक बजारभित्रका स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए÷नभएको अवलोकन गरिएको थियो ।  

त्यस्तै ढक तराजुको अवस्था, खरिद बिक्री बिल, मूल्यसूची, परिचय पत्रलगायत सूचकका आधारमा अनुगमन गरिएको थियो । कामपा कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले महामारीका समयमा पनि व्यापारी र उपभोक्तामा कत्ति सावधानी नदेखिएको भन्दै सचेत हुन आग्रह गरे ।  

उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले खरिद बिक्री बिललाई अनिवार्य गर्ने, त्यसका आधारमा मूल्यसूची टाँस्ने तथा त्यसआधारमा उपभोक्ताले खरिद गर्ने बानीको विकास गर्नुपर्ने बताउँछन् ।  

कालीमाटी बजार विकास समितिले यही भदौ ७ गते दुईपाङ्ग्रे सवारीसाधनलाई बजार प्रवेशमा रोक लगाउने, किसान बजार बन्द गर्ने, बजारमा कार्यरत भरिया र मजदूरलाई समूहमा बस्न निरुत्साहन गर्नेलगायत ११ बुँदे सूचना जारी गरेको थियो । तर यी नियम पालना भएको पनि पाइएन । 

सूचनामा इजाजत प्राप्त व्यवसायीले दुई जनाभन्दा बढी बस्न नपाइने, बजार प्रवेश गरेपछि साबुनपानीले हात धुनुपर्ने, मास्कको प्रयोग गर्नुपर्ने, कृषिउपज लिएर आउने सवारी साधनले बिहान ९ देखि राति ११ बजेसम्म मात्र प्रवेश गर्न पाउने, सामान जुन अवस्थामा आएको छ, त्यही अवस्थामा बिक्री गर्नेलगायत विषय उल्लेख गरिएको थियो ।

प्रकाशित: १२ भाद्र २०७७ १०:५३ शुक्रबार

व्यापारी कालीमाटी