समाज

अनलाइन सेवा प्रदायकमाथि प्रहरी धरपकड

होम डेलिभरी सेवा नदिने कागज गरेर रिहा

प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट अनलाइन सेवा प्रदायक कर्मचारी र व्यवसायीलाई धरपकड गरेको छ। उनीहरूले अत्यावश्यक सामग्री भन्दै पिज्जा र मःमः जस्ता खानेकुरा तथा अत्यावश्यक सामग्रीको सूचीमा नपर्ने सामानहरू होम डेलिभरी गरेको आरोप प्रहरीले लगाएको छ। व्यक्तिलाई घरैमा रहेका बेला यस्ता सामग्री पनि आवश्यक हुन्छन् भन्नेतर्फ प्रहरीको ध्यान नगएको तर्फ युवा उद्यमीहरूले आक्रोश व्यक्त गरेका छन्।  

युजी केककी सञ्चालिका निकिता आचार्य, फुडमान्डुका सञ्चालक मनोहर अधिकारी, एम एक्सप्रेसका सञ्चालक संगम सिंह, अनलाइन बिक्री केन्द्र किरानाका सागर भट्ट, बिग मार्टका कर्मचारीलगायत ६५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रहरी कार्यालय नजिकको होल्डिङ स्टेसनमा चार घन्टाजति राखिएको थियो। साँझ जिल्ला प्रशासन कार्यालयले चेतावनीसहित छाड्न प्रहरीलाई निर्देशन दिएको थियो। प्रहरीले अनावश्यक सामान ओहोरदोहोर नगराउने सर्तमा उनीहरूलाई छाडेको छ। ठूलो संख्या भएकाले पनि उनीहरूलाई हिरासतमा राख्न नसकिएको प्रहरीका भनाइ छ। बन्दाबन्दीका बेला अनलाइन सेवा प्रदायकले सेवा प्रदान गरिरहेकोमा अचानक सबैमाथि निगरानी गरी एकसाथ पक्राउ गर्नुलाई प्रशासनको ज्यादतीका रूपमा लिएका छन्। यसमध्ये कतिपय सेवा प्रदायक अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित भइसकेका छन्।  

प्रहरीले भने डेलिभरी म्यानहरूलाई समेत कोरोना पोजेटिभ देखिएको पाइएपछि कडा निगरानी बढाएको दाबी गरेको छ। अत्यावश्यक सामग्री डेलिभरी गर्न÷गराउन जिल्ला प्रशासन कार्यालयले नियमानुसार छुट दिए पनि सो नियमको दुरूपयोग गरी केही अनलाइन सेवा प्रदायकले अत्यावश्यक नरहेका सामग्री पु¥याउन गएको आरोप प्रहरीको छ। तर, कसैलाई यस्तो बेलामा इलेक्ट्रिक सामान वा अन्य केही चाहिन सक्छ भन्नेतर्फ ध्यान नदिई पक्राउ गरिएको हो। डोरम्याट, फेन्सीलगायत सामग्री बोकेर सडकमा ओहोरदोहोर गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनका अनुसार अत्यावश्यक बाहेकका सामान डेलिभरी गरेको पाइएपछि केहीलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिएकामध्ये अधिकांशले तोकिएभन्दा अन्य वस्तु बिक्री गरेको पाइएको छ। प्रशासनले अत्यावश्यक भनेर सूचनामा उल्लेख नगरेका सामानसमेत ढुवानी हुन थालेपछि नियन्त्रणमा लिनुपरेको उनको भनाइ छ। ‘केक, मःमः, पिज्जाजस्ता खानेकुरा अत्यावश्यक सेवामा पर्दैनन्,’ उनले भने, ‘यस्तो बेलामा होटलबाट अर्डर गरेर खानेकुरा खानु राम्रो होइन, घरमा पकाउन आवश्यक पर्ने सामग्री सहजै किन्न पाइन्छ तर केक, पिजा, बर्गर, मम, चाउमिनजस्ता खानेकुरा अनलाइनमार्फत अर्डर गरेर खानु राम्रो भएन।’ ‘कसैलाई दालभात बाहेक अन्य खाना खान मन लाग्न सक्छ,’ एक उद्यमीले भने, ‘दालभातलाई मात्र आवश्यक खाना मान्न सकिन्न। यो भर्खर सुरु भएको अनलाइन सेवामाथि सरकारको अनाहकको हस्तक्षेप हो।’

प्रहरी नियन्त्रणमा परेकी युजी केककी सञ्चालिका निकिता आचार्यले आफूलाई कार्यालयमै प्रहरी पुगेर नियन्त्रणमा लिएको गुनासो गरिन्। उनले अनावश्यक वस्तु होम डेलिभरी नगरेको दाबी गरिन्। ‘हामीले ग्राहकको विश्वास तोड्दैनौं,’ उनले भनिन्, ‘आवश्यक परेको सामान मात्रै पु¥याएका छौं तर प्रहरीले यसरी पक्राउ गर्नु राम्रो होइन।’

अपडेटः 

पक्राउ परेका डेलिभरीब्वाई तथा सञ्चालकलाई प्रहरीले निषेधाज्ञा अवधिभर सेवा बन्द गर्ने कागज गराएर छाडेको छ । उपत्यकाका विभिन्न स्थानबाट बिहीबार दिनभरी पक्राउ परेका उनीहरुलाई सेवा बन्द राख्ने कागज गराएर छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। ‘

प्रकाशित: १२ भाद्र २०७७ ०२:०३ शुक्रबार

अनलाइन सेवा प्रदायक